विराटनगर । जेनजी आन्दोलन नभएको भए २०८४ सालको निर्वाचन २०८२ मा गर्नुपर्ने कुनै बाध्यता आउने थिएन । तर, नागरिकका मुद्दा सम्बोधन गर्नका लागि कहिलेकाँहि आवश्यकताको सिद्धान्तमा टेकेरै देशले नयाँ पाइला चाल्नुपर्ने हुन्छ । त्यहि पाइला चाल्न बाध्य बनायो, गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहले । जेनजी विद्रोहपछिको कठिन संक्रमणकाल व्यवस्थापन गर्ने जिम्मेवारी लिने नेतृत्व धेरैको नामसँग जोडियो । तर, परिस्थिति सहज पनि थिएन । त्यहि असहजताकाबीच पनि प्रधानमन्त्रीमा सुशीला कार्कीलाई ल्याएर निर्वाचन गराउने जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलले सुम्पिए ।
त्यसपछि निर्वाचनबारे बाह्रैथरीका अड्कल भए । प्रधानमन्त्री र मन्त्रिमण्डलमाथि विभिन्न शंका र उपशंका पनि सिर्जना गरिए । कतिपय शंका र उपशंकाको प्रमाणित गर्ने कार्य मन्त्रिपरिषद्मा भएका सदस्यले समेत सहयोग गरिदिए । स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि गठन भएको सरकारका मन्त्रीहरु उम्मेदवार बनेर चुनावी मैदानमा समेत गए । तर, रक्तिभर आफूलाई कमजोर नठानेर प्रधानमन्त्री कार्की नेतृत्वले बिहीबार देशभरि सफल रुपमा निर्वाचन सम्पन्न गराएको छ ।
मतदान सकिएको समयसागै पहिलो श्रेय प्रथम नेपाली महिला प्रधानमन्त्री तथा प्रधान्यायाधीश सुशीला कार्कीले पाउनु स्वभाविक छ । कार्कीले २७ भदौमा प्रधानमन्त्रीको शपथ लिएर बालुवाटारस्थित सरकारी निवास पुगेदेखि कुनै दिन शान्तपूर्वक बिताएको देखिएन । एकातिर आन्दोलनरत जेनजीका बहुसंख्यक समूहको दवाव, अर्कातिर लामो समयदेखि देशको बागडोरमा रहेका राजनीतिक दल । एकातिर राज्यको सत्ता हत्याउने समूह अवैध शक्ति आर्जनको नाममा विद्रोही भएर उभिएको थियो । अर्कोतिर राज्यमा वैधानिक सत्ता सञ्चालन गर्ने अवसर पाएरपनि अवैध बनेका राजनीतिक दल थिए । यी दुई किनारमा उभिएका दुई भिन्न विशेषता बोकेका प्रतिपक्षीसँग अन्तरिम सरकार नेतृत्व गरिरहेकी कार्कीलाई फलामको च्यूरा चपाउनु झैं थियो ।
तर, सर्वोच्च अदालतमा समेत उतिकै संक्रमणकालिन स्थितिमा सुधार गरेर फर्केकी नेपालकी पहिलो प्रधानन्यायधीशले राजनीतिमा पनि उतिकै असजिलो संक्रमण सजिलै पार लगाएर आज धन्यवादकी पात्र मात्रै बनेकी छैनन्, इतिहासमा सम्झनुपर्ने नेपाली आमाको नाम लेखाउने भएकी छिन् । प्रधानमन्त्री भएको छ महिनाको अवधिमा मुलुकमा प्रतिनिधिसभा निर्वाचन बिहीबार सम्पन्न भएको छ । अब प्रधानमन्त्री सुशीला कार्कीसहित उनको टिम जननिर्वाचित नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेर बिदा हुन नजिक छ । अब मतगणना सम्पन्न भएर नयाँ सरकारका लागि राष्ट्रपतिले आह्वान गर्दासम्म कार्की प्रधानमन्त्री हुनेछिन् ।
चाहे जे होस् यो बीचका ६ महिनाको अवधिमा भएका घटनाक्रमले प्रधानमन्त्री कार्कीलाई अझै बलियो मात्रै बनाएर राष्ट्रका लागि एक कुशल अभिभावकको रुपमा समेत उभ्याएको छ । ‘घोषित मितिमा निर्वाचन नभएर मुलुक राजनीतिक रिक्ततामा गएको अवस्था भएको भए देशले अरु दुःख पाउने दिन आउनेथ्यो । त्यसैले निर्वाचनको दिन मतदानको दिनसम्मको अवस्थासम्म ल्याउने सफल प्रधानमन्त्रीप्रति आभारी बनौं ।