विराटनगर। प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा मोरङ क्षेत्र नम्बर-४ मा नेकपा माओवादीका उम्मेदवार अमनलाल मोदीले हार स्वीकार गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले मतगणना अझै जारी रहे पनि मतान्तर धेरै भएकाले आफूले हार स्वीकार गर्ने बताएका छन्। उनले आफ्नो स्टाटसमा लेखेका छन्, “निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेको थिएँ। मतगणना अझै जारी छ, तथापि मतान्तर धेरै भएकाले म आफ्नो हार स्वीकार गर्दछु।” मोदीले अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारलाई बधाई तथा शुभकामना पनि दिएका छन्।
उनले लेखेका छन्, “विजयोन्मुख रास्वपाका सन्तोष राजवंशीलाई हार्दिक बधाई! देशव्यापी रूपमा महत्वपूर्ण जित हासिल गरेकोमा रास्वपालाई पनि बधाई तथा शुभकामना।” त्यस्तै उनले ‘तारा’ चिन्हमा मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गरेका छन्। सफल चुनावी अभियान सञ्चालन गर्न सहयोग गर्ने पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूप्रति पनि उनले धन्यवाद दिएका छन्। निर्वाचन परिणामबाट विचलित नहुने बताउँदै मोदीले आत्मसमिक्षा गर्दै पार्टीलाई अझ सशक्त बनाउँदै अघि बढ्ने उल्लेख गरेका छन् साथै उनले आफु हारेपनि देश र जनता कहिले नहारोस् भनेका छन्।
यसैबीच निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार मोरङ–४ सहित विभिन्न स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन्।