बिराटनगर। सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) फराकिलो मतान्तरले विजयी भएका छन्।
राईले ३५ हजार ७ सय ४१ मत प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङले २७ हजार २ सय ४९ मत प्राप्त गरेकी छन्। राई ८ हजार ४ सय ९२ बढि मतान्तरले विजयी भएकको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले ६ हजार १ सय ८५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार टिकाराम लिम्बुले ६ हजार ४ सय ६३ मत प्राप्त रहेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र तामाङले ३ हजार ९ सय ७० मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी–१ मा कुल १ लाख ५० हजार ३ सय ९३ मतदाता रहेका छन्। कुल मतमध्ये ४७ हजार ९ सय ८ महिला र ४० हजार ४ सय ६४ पुरुष मतदाताले मतदान गरेका छन्।
सुनसरी १ को कुल मतमध्ये ८७ हजार ४ सय ७१ मत खसेको थियो। जसमा ४ हजार ३ ८९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। सामाजिक अभियन्ताका रूपमा पहिचान बनाएका राई अहिले संघीय संसदसम्म पुगेका छन् । स्थानीय मुद्दा उठाउँदै आएका उनले निरन्तर संघर्ष र जनसमर्थनको आधारमा धरानको स्थानीय राजनीतिदेखि राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गरेको हो । लाहुरे परिवारमा जन्मिएका राईले खोटाङको कोपिलासगढी गाउँपालिका–खार्ताम्छामा प्रारम्भिक शिक्षा हासिल गरेका थिए । प्रवेशिका उत्तीर्ण गरेपछि उहाँ २०५६ सालतिर धरान झरेका हुन् । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्र विषयमा स्नातक तहसम्म अध्ययन गरेका हुन्। २०७२ सालमा धरान–१० स्थित धनकुटे रोड हुँदै चतरातर्फ सडक विस्तार गर्ने क्रममा स्थानीयवासी विस्थापित हुनुपर्ने अवस्था आएपछि राईले पीडितसँग मिलेर आन्दोलन गरेका थिए । त्यही आन्दोलनबाट उनि सामाजिक अभियन्ताका रूपमा चिनिन थालेका हुन्।