सोनु साह
विराटनगर । देशमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामपछि अधिकांश नागरिकले नयाँ सरकारसँग भ्रष्टाचार नियन्त्रण र आधारभूत सेवा सुधारको अपेक्षा व्यक्त गरेका छन्। विगतमा देशको राजनीतिक नेतृत्वप्रति जनतामा रहेको विश्वास क्रमशः कमजोर बन्दै गएको र अब परिवर्तनको आवश्यकता रहेको नागरिकहरू बताउँछन्।
एक समय नेपाललाई स्वर्ग जस्तो अनुभव हुने गरेको भए पनि पछिल्ला वर्षहरूमा राजनीतिक अस्थिरता, भ्रष्टाचार र बेरोजगारीका कारण जनतामा निराशा बढ्दै गएको थियो। विगत करिब तीन दशकदेखि नेपाली राजनीतिमा उदाएका प्रमुख दलहरू नेपाली काँग्रेस, नेकपा ९एमाले) र माओवादी केन्द्र—प्रति जनताले लामो समयसम्म विश्वास गरे पनि सर्वसाधारणले पाउनुपर्ने आधारभूत सुविधा उपलब्ध गराउन नसकेको आरोप नागरिकहरूको छ। पटक–पटक सरकार परिवर्तन भए पनि कुनै पनि सरकारले स्थायित्व दिन नसक्दा जनतामा राजनीतिप्रति असन्तुष्टि बढ्दै गएको थियो।
यसैबीच २०७९ सालमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत दुईतिहाई उन्मुख मत प्राप्त गर्ने देखिन्छ । यो दलले आगामी सरकारको नेतृत्व गर्र्नेछ । नयाँ सरकार बन्ने तयारीसँगै सर्वसाधारण नागरिकहरूले विभिन्न अपेक्षा व्यक्त गरेका छन्।
विराटनगर निवासी मनोज बस्नेतका अनुसार नयाँ सरकारले पहिलो प्राथमिकतामा २०४८ सालपछिका राजनीतिक नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताए। साथै शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रका समस्याहरू समाधान गर्न विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ। त्यस्तै मोरङ क्षेत्र नम्बर १ का स्थानीय ईश्वर खतिवडाले नयाँ सरकारले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र निर्माणमा ध्यान दिनुपर्ने बताए। उनले पिछडिएका वर्ग तथा समुदायको विकासमा विशेष ध्यान दिनुपर्ने र देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।
तीर्थराज घिमिरेका अनुसार रास्वपाले प्राप्त गरेको जनमत परिवर्तनको संकेत भएकाले अब सरकारले जनताको भावना र अपेक्षा बुझेर काम गर्नुपर्ने समय आएको छ। उनले मोरङ उर्वर कृषि जिल्ला भएकाले कृषि क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्ने बताए। साथै पर्यटनको सम्भावना हुँदाहुँदै पनि मोरङ यस क्षेत्रमा पछि परेको भन्दै त्यसलाई विकास गर्नुपर्नेमा जोड दिए। नवराज दाहालले नयाँ बन्न लागेको सरकारलाई अग्रिम बधाई दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका पार्टीगत संगठनहरू खारेज गर्नुपर्ने धारणा व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकता दिनुपर्ने र विज्ञहरूको टोली गठन गरेर योजनाबद्ध रूपमा काम गर्दा देश विकासतर्फ अघि बढ्न सक्ने बताए।
यस निर्वाचनमा मतदाताहरूले परिवर्तनको नारा प्रमुख रूपमा उठाएका थिए। सोही अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी लाई बहुमत दिएर सरकार गठनको अवसर प्रदान गरेका छन्। अब अधिकांश मतदाताको अपेक्षा नयाँ सरकारले जनताको आशा र विश्वासलाई मर्न नदिई देशलाई विकास र सुशासनको बाटोमा अघि बढाउने रहेको छ।