विराटनगर । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपालमा हवाई भाडा बढेको छ । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको हो । अन्तराष्टिय बजारमा इन्धनको मूल्य बढेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।
हवाई सञ्चालक संघले पनि नयाँ भाडादर सार्वजनिक गरेको हो। निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको थियो। मूल्य समायोजनसँगै संघले सोमबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो। नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइट ६५५ रुपैयाँसम्म वृद्धि भएको छ। काठमाडौं–भद्रपुर ५७०, काठमाडौं–विराटनगर ४५५, काठमाडौं–धनगढी ८४० रूपैयाँसम्मले भाडा बढेको छ। यस्तै काठमाडौं–पोखरा ३०० रूपैयाँले भाडा बढेको छ।
नयाँ हवाई भाडादर बुधबारबाट लागू हुने संघले जनाएको छ। निगमले १९ रुपैयाँ प्रतिलिटर हवाई मूल्य बढाएको थियो। एअरपोर्ट ट्याक्स अन्तर्रास्ट्रिय विमानस्थलको हकमा ५०० रूपैयाँ र अन्य विमानस्थलमा ३०० र ४००रूपैयाँ कायम गरिएको निगमले जनाएको छ। मध्यपूर्वमा इजरायल र इरानबिच चर्किएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो उछाल आएको छ । सन् २०२२ यता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको हो।
इरानका तेल डिपोहरूमा लक्षित हवाई आक्रमणपछि विश्वभर ऊर्जा सङ्कटको त्रास बढेको छ। सोमबार एसियाली बजार खुल्नेबित्तिकै ब्रेन्ट क्रुडको मूल्य १५.५ प्रतिशतले बढेर प्रतिब्यारल १०७.१६ डलर पुगेको छ भने नाइमेक्स क्रुड १७ प्रतिशतले वृद्धि भई १०६.७७ डलर पुगेको छ। विश्वको महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ अवरुद्ध हुने डरले लगानीकर्ताहरू त्रसित छन्। विश्लेषकहरूका अनुसार यो अवरोध लम्बिदै गएमा तेलको मूल्य प्रतिब्यारल १५० डलरसम्म पुग्न सक्छ।