विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ५ को समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । मोरङ–५ निर्वाचन अधिकृतको कार्यालयका अनुसार फागुन २४ गते दिउँसो १२ बजेदेखि सुरु गरिएको मतगणना सोमबार दिउँसो सकिएको हो ।
निर्वाचन अधिकृत मदन पराजुलीका अनुसार उक्त क्षेत्रमा सबैभन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको छ। खसेको कुल ७५ हजार ५०५ मतमध्ये रास्वपाले ३७ हजार ९४७ मत ल्याएको छ । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशा झाले प्रत्यक्षतर्फ पनि निर्वाचित भएकी थिइन् ।
त्यसैगरी नेपाली कांग्रेसले ८ हजार ७९२ मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टी नेपालले ६ हजार ५१५ मत पाएको छ । नेपाली कम्यूनिष्ट पार्टीले ६ हजार २२८ मत ल्याउँदा नेकपा एमालेले ५ हजार ९३२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
राष्ट्रिय उर्जाशील पार्टीले २ हजार ३७४ मत प्राप्त गरेको छ । राष्ट्रिय उर्जाशिल पाटीका अध्यक्ष योग्न्द्र मण्डल यो क्षेत्रका उम्मेदवार समेत थिए । २०७९ सालको निर्वाचनमा उनी स्वतन्त्रबाट उम्मेदवारी दिएर मोरङ ५ मा निर्वाचित भएका थिए ।
यस पटक भने उनको जमानत नै जफत भएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ४६ मत ल्याएको छ । यस्तै श्रम संस्कृति पार्टीले ५२२, जनमत पार्टीले ४९३, राष्ट्रिय निर्माण दल नेपालले ४१२, नेपाल जनता संरक्षण पार्टीले २८३ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले १८८, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले ११२, नेपाल जनता पार्टीले १२९ र राष्ट्रिय एकता दलले १०२ मत प्राप्त गरेका छन् । अन्य दलहरूले भने १ सयभन्दा कम मत प्राप्त गरेका छन् । सो क्षेत्रबाट २२ जनाले उम्मेदवारी दिएका थिए ।
सबैभन्दा कम मत नेपाल जनमुक्ति पार्टी र उन्नत लोकतन्त्र पार्टीले प्राप्त गरेको छ। ‘घर’ र खुला किताव चुनाव चिन्ह भएको २ वटा पार्टीले मात्र ४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा कुल १ लाख १० हजार १७७ मतदाता रहेका थिए। जसमध्ये ७५ हजार ५०५ मत खसेको थियो। तीमध्ये ७२ हजार १७६ मत सदर भएको र ६ हजार ३२९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।