विराटनगर । विराटनगरमा बिहे घरमा काम गर्न गएकी एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११ जनप्रिय टोलका रवीन्द्र साहको घरमा छोरी विवाहमा काम गर्न गएकी महिलाको करेन्ट मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ कटहरी २ निवासी ५२ बर्षिया मारङमही हेमरनको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार विवाह घरमा जोडेको झिलिमिली बत्तीको तारबाट मंगलबार दिउँसो ४ बजेतिर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका थिए । क्याटरिङको जिम्मा लिएका व्यक्तिले महिलालाई बिहे घरमा काम गर्न लिएर आएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान अगाडी बढाइएको मोरङ प्रहरीले जनाएको छ ।