पूविको विराटनगरस्थित कलेज अफ लमा शिक्षक अभाव, नियमित कक्षा सञ्चालन प्रभावित

<span class='c1'>पूविको विराटनगरस्थित कलेज अफ लमा शिक्षक</span> <span class='c2'>अभाव, नियमित कक्षा सञ्चालन प्रभावित</span>

सोनु साह
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित विराटनगरस्थित कलेज अफ ल मा शिक्षकहरू नियमित रूपमा कक्षामा उपस्थित नहुँदा पठन–पाठन प्रभावित भएको भन्दै विद्यार्थीहरूले गुनासो गरेका छन्। विद्यार्थीहरू समयमै क्याम्पस पुगे पनि शिक्षक नआउँदा कक्षा सञ्चालन हुन नसकेको उनीहरूको भनाइ छ। विद्यार्थीहरूका अनुसार यो समस्या पटक–पटक दोहोरिँदै आएको छ। दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी मौसम पराजुलीले आफूहरू दैनिक करिब ४० किलोमिटर टाढाबाट बसको भाडा तिरेर क्याम्पस आउने गरेको तर शिक्षक नआएपछि दिनभर कक्षामा बसिरहनु पर्ने अवस्था रहेको बताए।

त्यस्तै छात्रा स्मृतिका विश्वकर्माले क्याम्पस प्रशासनलाई पटक–पटक जानकारी गराए पनि समस्या समाधानतर्फ कुनै चासो नदेखिएको बताइन्। विद्यार्थी अभिनास मेहताका अनुसार आफूहरू दैनिक करिब २०० रुपैयाँ खर्च गरेर क्याम्पस आउने तर शिक्षकहरू नियमित रूपमा कक्षामा नआउँदा विषयगत अध्ययनमा समस्या भइरहेको सुनाए । “नियमित रूपमा ७ वटा कक्षा सञ्चालन हुनुपर्नेमा अहिले २ देखि ३ वटा मात्र कक्षा लाग्ने गरेको छ,” उनले भने।विद्यार्थीहरूले प्रशासनसँग बुझ्दा शिक्षक अभावका कारण नियमित पठन–पाठनमा समस्या भएको जानकारी पाउने गरेका छन्। क्याम्पस प्रशासन प्रमुख अधिकृत दिपेन्द्र कुमार मण्डलले क्याम्पसमा शिक्षक अभावका कारण सबै कक्षाहरू नियमित सञ्चालन गर्न नसकिएको स्वीकार गरे। उनका अनुसार केही कक्षाहरू भने नियमित रूपमा सञ्चालन भइरहेको छ। क्याम्पसमा हाल एलएलबी, बीएलएलबी र एलएलएम कार्यक्रम सञ्चालनमा रहेका छन्। क्याम्पसमा हाल १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

यस्तै पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघका सचिव कोमल प्रसाद गौतमका अनुसार शिक्षक दरबन्दीको माग गर्दै पटक–पटक केन्द्रीय कार्यालयमा पत्राचार गरिएको भए पनि त्यसमा ठोस निर्णय हुन सकेको छैन। उनले सेवा आयोगले दरबन्दी खुलाउने आश्वासन दिँदै आए पनि महिनौँदेखि प्रक्रिया अघि नबढेको बताए। पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत रहेको सेवा आयोगले कर्मचारी तथा शिक्षक दरबन्दी खुलाउनेदेखि नियुक्तिसम्मको प्रक्रिया हेर्दै आएको छ। तर यस विषयमा आवश्यक चासो नलिएको आरोप शिक्षकहरूको पनि रहेको छ।

हाल कलेजमा करिब १ हजार विद्यार्थी अध्ययनरत भए पनि स्थायी रूपमा जम्मा ३ जना शिक्षक मात्र रहेका छन्। करार तथा आंशिक समयका लागि १८ जना शिक्षक राखिएको भए पनि उनीहरू समयमै कक्षामा नआउने समस्या दैनिकजसो देखिने गरेको विद्यार्थीहरूको गुनासो छ। यसले गर्दा कलेजमा पठन–पाठनको गुणस्तरमा समेत असर परेको भन्दै विद्यार्थीहरूले तत्काल शिक्षक व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्