विराटनगर । सामुदायिक विद्यालयमा कक्षा ८ अध्ययनरत छात्रासँग टिकटकमा सामान्य चिनजान भएका किशोरले लाइक र कमेन्ट गर्दै गए । एकले अर्कोसँग कुराकानी पनि राम्ररी गरेका थिएनन् । तर, ती किशोरले छात्रालाई प्रेम प्रस्ताव गरे । भेट्दै नभेटेको, जान्दै नजानेको व्यक्तिले आफ्नो कलिलो उमेरमाथि दागा धरेपछि उनी चिन्तित बनिन् । तर, यस्ता प्रस्तावलाई स्वीकार गर्ने मनस्थितिमा रहिनन् ।
बारम्बार डर–धम्की दिइरहेका उनले टिकटकबाटै भिडियो र फोटो तानेर मोडिफाई गरिकन तीनवटा टिकटक आईडीबाट सार्वजानिक गरिदिए । त्यसले भने छात्रामा तनाव बढायो । पीडित छात्राले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालासँग गुनासो पोख्दै भनिन, उसले गलत गरेको छ, पीडित मैले हुनु परेको छ । गलत भएको भनेर पीडितलाई सबैले सहानुभूति दिने र न्यायका लागि पहल लिन सहयोग गर्नेभन्दा पनि उनलाई जिस्क्याउने र मजाक बनाउनेहरुको संख्या विद्यालयमै बढ्यो ।
त्यसपछि उनी हिक्मत लिएर स्थानीय प्रशासनसम्म पुगेकी छिन् । उनले सहायक प्रमुख जिल्ला अधिकारी कोइरालासँग आफूलाई विद्यालयमा समेत समस्या भएको भन्दै पीडकलाई तत्काल पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन माग गरेकी छिन् । यसैगरी टिकटकमा हानिएको उक्त बनावटी सामाग्री प्रारम्भिक स्रोतमै नष्ट गरिदिन पनि माग गरेकी छिन् ।
सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले पीडितलाई न्यायका लागि आवश्यक प्रमाण खोज्नका लागि जिल्ला प्रहरी कार्यालयमार्फत कार्य बढाइएको बताएका छन् । उनले पीडितलाई न्याय दिन र पीडकलाई कानुनी कारवाही गर्नका लागि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको बताएका छन् ।
प्रविधिको बढ्दो विकाससँगै यसबाट हुने अपराधमा किशोरावस्थाका धेरै युवायुवती पर्ने गरेका छन् । सामान्य सामिप्यतालाई समेत दुरुपयोग गरेर एकले अर्कोलाई असर गर्ने शैली हावी हुँदा त्यसले सानै उमेरमा मानसिक तनावमा पर्नुपर्ने कारण बनिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार मोरङमा चालु आर्थिक वर्षको आठ महिना मात्रै १८६ साइबर अपराधका उजुरी दर्ता भएका छन् । यसमध्ये साउनमा ११ वटा र कार्तिकमा ३१ वटा रहेका छन् । साउनमा कम र कार्तिकमा धेरै साइबर अपराधका मुद्दा अहिलेसम्म दर्ता भएका हुन् । फागुन महिनामा २० वटा साइबर अपराधका उजुरी प्रहरीमा पुगेका छन् । प्रहरीमा उजुरी परेकामध्ये पनि दुईवटा घटनामा प्रहरीले अनुसन्धान गरेर मुद्दा चलाउने प्रक्रियामा पुगेको प्रवक्ता लामिछानेले जानकारी दिएका छन् । साइबर अपराध कम गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न विद्यालयमा जनचेतना मुलक कार्यक्रम गरेको समेत उनले बताए ।