विराटनगर चैत्र २ ,
मोरङ उद्योग संगठनले कोशी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागेको ‘होम बिल्ड एक्जिविसन’ले शहरलाई पाँच दिनसम्म निर्माण र आवासको रोमाञ्चक दुनियामा डुबाउनेछ। चैत १२ देखि १६ गतेसम्म विराटनगरको जैन भवनमा हुने यस प्रदर्शनीका लागि तयारी तीव्र रुपमा अघि बढिरहेको संघले जनाएको छ।
यस प्रदर्शनीले केवल निर्माण सामग्री प्रदर्शन गर्न मात्र नभई, आवासीय डिजाइन, इन्टेरियर, फर्निचर, प्रविधि, वित्तीय सुविधा र बीमा सेवा जस्ता विभिन्न पक्षलाई समेटेर एउटा सम्पूर्ण ‘घर निर्माणको उत्सव’ बन्ने लक्ष्य राखेको छ।
संघका अध्यक्ष नन्दकिशोर राठीका अनुसार प्रदर्शनीले नेपाली निर्माण सामग्री र सेवाहरूको प्रवद्र्धन मात्र होइन, नवप्रवर्तन र आधुनिक निर्माण अभ्यासमा जनचेतना अभिवृद्धि गर्नेछ। “यस अवसरले उद्योगी, व्यवसायी र उपभोक्ताबीचको सञ्जाललाई बलियो बनाउनेछ,” उनले भने।
प्रदर्शनीमा ७५ भन्दा बढी स्टलहरू रहनेछन्, जहाँ आवास र भवन, प्रमुख निर्माण सामग्री, धारा–बाथरुम सामग्री, विद्युतीय सामग्री, फर्निचर, इन्टेरियर डिजाइन, निर्माण सेवाहरू, नवीन प्रविधि र आविष्कारका नमूना राखिनेछ। प्रत्येक दिन विभिन्न ‘थिमेटिक सेसन’, B2B र B2C नेटवर्किङ बैठकहरू समेत हुनेछन्, जसले व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष संवादलाई सशक्त बनाउनेछ।
संगठनका महानिर्देशक चुडामणि भट्टराईले भने, “यस प्रदर्शनीले नेपाली निर्माण क्षेत्रलाई थप सुदृढ बनाउने र बजारलाई नयाँ गतिशीलता दिनेछ। विराटनगर यस अवसरबाट देशमै अग्रणी आवासीय र निर्माण हबको रूपमा प्रस्तुत हुनेछ।”
चैत १२ देखि १६ सम्म विराटनगरको जैन भवन घर निर्माण प्रेमीहरू, व्यवसायी र नवप्रवर्तनमा रुचि राख्ने सबैका लागि रमाइलो र ज्ञानवर्धक ठाउँ बन्ने निश्चित छ।