विराटनगर । सिटिजन्स बैंक इन्टरनेशनल लि.कन्चनबारी शाखा, विराटनगरमा नक्कली ऋणी खडा गरेर पाँच करोड ३१ लाख अपचलन गरेको आरोप लगाउँदै एकजना कर्मचारी विरुद्ध प्रहरीमा उजुरी परेको छ । बैंकको आन्तरिक छानविनमा बैंकको पासवर्ड दुरुपयोग गरिएको दावी छ । जसमा बैंकको सुन्दरहरैंचास्थित सलकपुर शाखा कार्यालयमा सहायक पदमा कार्यरत ३५ वर्षीया रोजी कँडेल संलग्न रहेको भन्दै प्रहरीमा उजुरी परेको छ । कँडेल गत मंसिरमा सलकपुर शाखा सरुवा भएर गएकी थिइन् ।
बैंकले रोजी कँडेलका आफन्तबाट ४ करोड ९१ लाख रुपिँयाको जायजेथा धितो जमानिमा लिएको छ । त्यसैगरी दुई कर्मचारी एलिना श्रेष्ठ र उत्सव अधिकारीबाट २०\२० लाख नगद समेत लिएको खुलेको छ । बैंकका सूचना अधिकारी नारायणराज अधिकारीले अपचलन बारे कँडेलले एकल जिम्मेवारी लिएकोले प्रहरीमा एकजनालाई मात्रै विपक्षी बनाएर मुद्दा दायर गरेको जानकारी दिए । तर, यो प्रकरणमा बैंकले दुईजनासँग नगद र एकजनासँग धरौटी बुझेको छ । त्यस बाहेक अन्य पाँचजना कर्मचारी समेत निलम्बनमा राखिएको छ ।
कोर बैंकिङ्ग सिस्टम (सिबिएस) भित्र बैंकका सबै कर्मचारी आवद्ध हुन्छन् । आन्तरिक सिस्टम समेत केन्द्रीय सर्भरसँग आवद्ध हुन्छ । ऋण जारी गर्दा शाखा, प्रदेश हुँदै केन्द्रीय कार्यालयसम्म सिबिएसमा लिंक हुन्छ । यस्तोमा कसरी कर्मचारीहरुले नक्कली ऋणीको फायल खडा गरेर रकम झिके भन्ने कुराले कतिपय ठाउँमा आशंका समेत सिर्जना गरेको छ । त्यसमाथि विपक्षी बनाइएका कँडेलका परिवारले यो परिस्थिति सिर्जना गर्नका लागि शाखाका प्रमुख, प्रदेशका र केन्द्रीय कार्यालयका कर्मचारी समेतको संलग्नता रहेको दावी गर्दछन् । तर, ऋण जारी गर्न खडा गरिएका फायल भने कँडेलका आफन्तको मात्रै भएको दावी गरिएको छ ।
बैंकका सूचना अधिकारी नारायणराज अधिकारी भने ऋणको सीमा अनुसार केन्द्रीय कार्यालयसम्म पुग्ने बताउँछन् । कन्चनबारी शाखामा भएको अपचलनमा ‘मेकर र टेकर अथोरिटी’ दुरुपयोग भएको छ । यो भनेको जसले ऋण जारी गर्नका लागि फायल खडा गर्दछ उसको पासवर्ड र जसले ऋण जारी गर्दछ उसको पनि पार्डवर्ड एकै व्यक्तिले दुरुपयोग गर्नु हो । बैंकमा यी सबै फरक फरक शाखाबाट हुने गर्दछ । अपचलनमा फरक फरक शाखाका बहुसंख्यक कर्मचारीको मिलेमतो नभई एकको पासवर्ड अर्कोले चलाउने र दुरुपयोग गर्ने संभावना हुँदैन ।
गत असोज–कार्तिकमा शाखा कार्यालय कन्चनबारीको सञ्चालन विभाग प्रमुख कँडेल थिइन् । उनीमाथि त्यहि बेला ऋण जारी गरेर अपचलन गरेको आरोप छ । त्यसपछि शाखामा भएको आन्तरिक छानविनका क्रममा बैंकबाट कर्मचारीकै मिलेमतोमा पाँच करोड ९१ लाख रुपैँया घोटाला भएको देखिएको थियो ।
फर्जी ऋणी खडा गरेर ऋण जारी गरेको देखिएपछि कँडेललाई स्पष्टीकरण सोधिएको थियो । गत फागुन १२ गते स्पष्टीकरण बुझाएपछि आफन्तबाट धितो बुझिएको थियो । जसमा कँडेलका ससुरा खगेन्द्र प्रसाद रिजालको नाममा रहेको छ करोड मोलामलाईको जग्गा धितोमा राखेर तीन महिना भित्र नगद बुझाउने आन्तरिक सहमति थियो । बैंकको ख्यातीलाई बिग्रन नदिन घटना बाहिर नल्याउने सहमति समेत गरिएको थियो ।
तर, यो बीचमा बैंकले कानुनी कारवाहीमा जाने भन्दै प्रहरीमा जाहेरी दियो । रोजीका बुबा (माइती) राजन कँडेलका अनुसार बैंकले आन्तरिक रुपमा मिलाउने र संलग्न रहेका सबै कर्मचारीबाट रकम मिलान गर्ने आश्वासन दिएकैले धितोमा जग्गा राखिएको बताउँछन् । परिवारले मोरङको रंगेली नगरपालिका दर्वेसा ५(५ख) कित्ता नम्बर २२ को ०–१४–६–० क्षेत्रफल, यसैगरी दर्वेशा ३(३ग) कित्ता नम्बर ४६७ को ०–८–७–२, ३(३ग) कित्ता नम्बर ५४४ को ०–६–१८–० क्षेत्रफल र दर्वेशा ३(३ग) कित्तानम्बर ४६५ को ०–२–१५–२ क्षेत्रफलको जग्गा धितोमा राखेको छ । यो सबै जग्गा रोजीको घरपट्टीका ससुराको हो । २०८२ माघ १८ र फागुन २६ गते यी जग्गाको धितो दृष्टिबन्धक लिखत रजिष्ट्रेसन पारित गरेर रोक्का राखिएको हो ।
धितो राखेर यसलाई तीन महिना भित्र सकार्ने गरी घर र माइती पक्षका परिवारसँग बैंकको केन्द्रीय कार्यालयले नै सहमति गरेको दावी रोजीका बुबा राजनको छ । तर, सबै प्रक्रिया फागुन २७ गते सकाएर फागुन २८ गते रोजी कँडेललाई बैंकबाट निष्कासन गरिएको थियो । त्यहि दिन जिल्ला प्रहरी कार्यालय मोरङमा अनुसन्धान गरिदिन माग गर्दै उजुरी दर्ता गरिएको आरोप छ । प्रहरीले त्यसपछि कँडेललाई पटक पटक पक्राउ गर्न खोजतलास गरिरहेको छ ।
मोरङका प्रहरी उपरीक्षक कबित कटुवाल उजुरी प्राप्त भएपनि पक्राउ पूर्जी जारी नभएको बताउँछन् । तर, पक्राउ गर्न बारम्बार पुगेको भन्दै बुबाले जिल्ला प्रहरी कार्यालय मोरङलाई समेत विपक्षी बनाएर उच्च अदालत विराटनगरमा अन्तरिम आदेश माग गर्दै मुद्दा दायर गरिएको जानकारी दिएका छन् । प्रहरीले उजुरी परेपछि अनुसन्धान गर्नुपर्ने बैंकको आन्तरिक प्रतिवेदन, कोर बैंकिङ सिस्टम, त्यससँग जोडिएका कर्मचारी, ऋण जारी गर्दा सम्बन्धित बैंकका कुन तहका कर्मचारीसम्मको कस्तो प्राधिकार हुन्छ भन्ने कुराको यथोचित अध्ययनपछि अनुसन्धान सुक्ष्म रुपमा भइरहेको बताइएको छ ।
यता पीडित परिवारले भने प्रहरीले बैंक भित्रको सिस्टम र प्रक्रिया नबुझिकन एकजना व्यक्तिलाई मात्रै पक्राउ गर्न खोजेको आरोप लगाएका छन् । उनीहरु उच्च अदालतमा जिल्ला प्रहरी कार्यालय मोरङ, सिटिजन्स बैंक इन्टरनेशनल लि. केन्द्रीय कार्यालयका सिईओ गणेश पोखरेल, कोशी प्रदेश कार्यालयका प्रमुख दिवस सिंह ठकुरी, कन्चनबारी शाखाका प्रवन्धक अभिषेक अग्रवाल र बैंकको रंगेली रोडस्थित कार्यालयलाई समेत विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरेका छन् ।
बैंकका सूचना अधिकारी नारायणराज अधिकारीले सबै कुरा स्वीकार गरेकै कारण परिवारले समेत सहजै रुपमा आफ्नो जायजेथा धितोको रुपमा राख्न तयार भएको दावी गर्दछन् । विपक्षीतर्फका परिवारका सदस्य भने बैंकले तयार पारेको लिखत नै पढ्न नदिएको दावी गरिरहेका छन् ।