स्वस्तिका भट्टराई
विराटनगर । विराटनगर–११ स्थित सब्जीमण्डी तथा तरकारी बजार पुग्दा बन्दा र फूल कोभी, बैगुन, भिण्डी, गाजर–मुला, लसुन–प्याज, सिँबी–क्याप्सिकम ढाकीमा सजाएर व्यापारी बसेका छन् । सिजनको साग फर्सीको टुप्पा, गिनारीको साग, रायो तथा मसिनो साग पाइन्छ ।
हामीले भान्सामा प्रयोग गर्ने हरियो तरकारी भने सस्तोमै पाइदैन । यसका लागि ठूलो रकम खर्चदाँ सानो झोला भरिदैन । हरियो तरकारीलाई सञ्चित गर्ने कोल्डस्टोर नहुँदा उपभोक्ताले उपभोग गर्नेभन्दा बढी भएको तरकारी त्यसै खेर जान्छ । त्यति मात्रै नभई प्रशोधन र बजारीकरणको अभाव हुँदा यसको सदुपयोग हुँदैन । त्यसैले यसको मूल्य सिजनमा समेत उतारचढाव हुने गरेको छ ।
विराटनगरमा हरियो तरकारीको मूल्यमा केहि उतारचढाव भइरहेको हुन्छ । अहिले नेपाली किसानले उत्पादन गरेको तरकारी बजारमा आइरहेको छ । त्यसैले भारतबाट अवैध आयात भएको तरकारी बजारमा कम पाइन्छ । तर, नेपाली कृषकले उत्पादन गर्ने तरकारीले कम मूल्य पाउँछ । भारतबाट अवैध आयात हुने तरकारी महंगो पर्नेहुन्छ ।
सामान्यतयाः चैत र बैसाखको समयमा तरकारीको मूल्यमा वृद्धि हुने भएपनि यसवर्ष भने स्थानीय तरकारीहरू बजारमा प्रसस्त भएकाले मूल्यमा कमि आएको गुद्री बजारका खुद्रा व्यवसायी मिलन कटुवालको भनाई छ । तर, भिन्डी, बोडी र करेला जस्ता बेमौसीमा तरकारीको मूल्य बृद्धि भएको छ ।
गुद्री बजारकै अर्का व्यवसायी मनिष शाह भन्छन, “स्थानीय स्तरमा उत्पादन भएका तरकारीहरू पानी परेर डुबान सुरु भएपछि कम हुन्छन् । स्थानीय तरकारीमा कमि आएसँगै तरकारी भारतबाट निर्यात गरिन्छ । त्यस पश्चात तरकारीको मूल्यमा वृद्धि हुन्छ ।” स्थानीय तरकारीहरू बजारमा प्रसस्त भैरहदा बिक्रि भने सधै झैँ सामान्य रहेको व्यवसायीहरु बताउछन् ।
सब्जिमण्डी तथा गुद्री बजार व्यवस्थापन समितिका सचिव अहमद साहेब गुड्डु मियाँ भने नीतिगत रुपमा उत्पादन भएको तरकारीको सुरक्षा गर्ने योजना बनाउनुपर्नेमा जोड दिन्छन् । उनका अनुसार अहिले भारतबाट गाडीका गाडी तरकारी आयात भइरहँदा समेत क्यारेन्टाइनदेखि भन्सारसम्मले त्यसको नियन्त्रणमा चासो राखेका छैनन् । उनका अनुसार साना व्यापारीले साइकलमा ल्याउने तरकारी अलिअलि छामछुम पार्ने नाममा सशस्त्र प्रहरीले हच्काएर छोड्ने गर्दछ । त्यसमा पनि शंका गर्ने प्रशस्त ठाउँ रहने गरेको छ । तर, ट्रकमै भित्र्याउने तरकारीले बजार नै खिचेर स्थानीय उत्पादनले कम मूल्य पाउने गरेको छ ।