विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको शैक्षिक प्रशासन महाशााखाका एक कर्मचारीले विद्यार्थीको माक्ससिट सर्टिफिकेटमा किर्ते हस्ताक्षर गरेको र आफ्नो अधिकार नाघेर काम गरेको खुलासा भएको छ । क्याम्पसको कर्मचारीले विद्यार्थीको भविष्यसँग जोडिएको शैक्षिक प्रमाणपत्रमाथि प्रशासनिक खेलबाड भइरहेको पाएपछि गम्भीर प्रश्न उब्जिएको छ । क्याम्पसको शैक्षिक प्रशासन शाखा प्रमुखको दुई महिनादेखि जिम्मेवारी सम्माल्दै आएका विनोद कामतले अधिकृतको छाप र हस्ताक्षर गर्ने गरेका हुन् । शैक्षिक प्रमाणपत्रमा आधिकारिक हस्ताक्षरकर्ता भने उनी हैनन् ।
मुख्य कार्यालय सहायक पदमा रहेर उनले आफूलाई अधिकृत तहको स्टाम्पको प्रयोग चारित्रिक प्रमाणपत्रमा गर्दछन् । जुन शाखा अधिकृतको किर्ते हस्ताक्षर गरेको र आफ्नो अधिकार नाघेर काम गरेको सोही क्याम्पसका एक विद्यार्थी नेताले खुलसा गरेका छन् । विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयबाट जारी भएको आफ्नो ट्रान्सक्रिप्ट लिएर क्याम्पसबाट क्लियरेन्स गर्नुपर्ने, आवश्यक शुल्क तिरेर निवेदन दिनुपर्ने र अन्ततः क्याम्पस प्रमुखको हस्ताक्षरबाट चारित्रिक प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया छ । नियमानुसार प्रत्येक कागजात तयार पार्ने, प्रमाणीकरण तथा हस्ताक्षर गर्ने कार्य निश्चित जिम्मेवारी अनुसार फरक फरक कर्मचारीले गर्नुपर्ने व्यवस्था छ । तर, व्यवहारमा यो प्रक्रिया मनपरी र अव्यवस्थित ढंगले सञ्चालन भइरहेको पाइएपछि यस्तो नियम विपरीत काम गर्ने कर्मचारीलाई तत्काल कारबाही हुनुपर्ने विद्यार्थीको माग छ ।
स्रोतका अनुसार यस प्रकरणमा क्याम्पस प्रमुख डा.रामावतार शरणको संलग्नता हुनसक्ने आशंका गरिएको छ । क्याम्पस प्रमुख र कर्मचारीको नै मिलेमतोमा यस्तो कार्य भईरहेको त्यही कार्यालयमा कार्यररत कर्मचारीको आरोप छ । यता क्याम्पसका नायब सुब्बा तहका कर्मचारी विनोद कामतले भने छाप लगाउने गल्ती आफ्नो नभएर अन्य कर्मचारीले गल्ती गरेको भनेर पन्छिन खोजे । ‘चारित्रिक प्रमाणपत्र आइसकेपछि त्यसलाई मैले प्रमाणीकरण गरिदिने हो । अनि त्यो क्याम्पस प्रमुखकोमा पुग्छ । हस्ताक्षर चाही मेरै हो तर त्यसको तल शाखा अधिकृत (सेक्सन अफिसर) भन्ने छाप आफुले नलगाएको कामतले दावी गरे । कामतले गल्ती स्वीकार गर्दै भने, ‘यो त्रुटी भएको छ ,यसरी छाप लगाएर गईसकेको सर्टिफिकेटहरु फिर्ता गरी पुन विद्यार्थीलाई हस्तान्त्रण गरिने छ ।’
महेन्द्र मोरङ क्याम्पसमा भएको यस्ता घटनाले शिक्षा क्षेत्रमा नक्कली ओहोदा, किर्ते हस्ताक्षर र प्रक्रियागत अव्यवस्थालाई प्रष्ट पार्ने विद्यार्थीहरुको बुझाई छ । यसले के पनि दर्शाउछ भने विश्वविद्यालयको प्रतिष्ठा, विद्यार्थीको अधिकार र भविष्यमा गम्भीर धक्का पुर्याएउने संभावना समेत हुन्छ । यसका लागि विद्यार्थीहरुको हक अधिकारको निम्ति आवाज उठाउने त्यहाँका विद्यार्थी नेताहरुले यस घटनालाई गम्भिर रुपमा लिएर वास्तविकता बाहिर ल्याउनु आवश्यक देखिएको छ ।