विराटनगर । विराटनगर महानगरपालिका–१९ बैजनाथपुरमा पुरानो पेट्रोलपम्प न्यू कान्तिपुर फ्यूल सेन्टर अहिले चिटिक्क पारिएको छ । पुष्पलालचौक–बिराटचौक सडक खण्डमा इन्धन मात्रै बिक्री गर्दै आएको पेट्रोलपम्प परिसरमा अहिले इभी चार्जिङ पनि थपिएको हो ।
यसका प्रमुख लगानीकर्ता तुलसी पोखरेलका अनुसार यो हाइब्रिड सवारी लक्षित गरेर पुर्नसंरचना गरिएको चार्जिङ्ग तथा फ्यूल सेन्टर हो । जहाँबाट इभी र इन्धन दुवै विकल्प भएका हाइब्रिड सवारीका लागि सहुलियत पुग्नेछ । त्यस बाहेक इभी मात्रै वा इन्धन मात्रै प्रयोग हुने सवारीलाई पनि सहज हुनेछ । सञ्चालक पोखरेलका अनुसार पुरानो पेट्रोलपम्पलाई पनि नयाँ र त्यहि परिसरमा बिद्युतीय चार्जिङ्ग स्टेसन समेत थप्दा झण्डै दुई करोड लगानी गरिएको छ । त्यहि परिसरमा ढावा सेन्टर र बाल उद्यान समेत सञ्चालनमा छ ।
बिद्युतीय सवारी साधन प्रयोगकर्ता बढ्दै जाँदा यसका लागि आवश्यक संरचनामा लगानी समेत थपिदो छ । तीनवर्ष अगाडी नेपाल बिद्युत प्राधिकरणले देशभर ६७ वटा चार्जिङ्ग स्टेसन स्थापना गर्दा कोशी प्रदेशमा इटहरी र विराटनगरमा दुईवटा स्थापना भएका थिए । त्यसपछि निजी क्षेत्रको लगानी यसमा आकर्षित हुँदै गएको हो ।
नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय कार्यालयले मात्रै चार्जिङ्ग स्टेसन स्थापनाका लागि सिफारिस दिदै आएकोमा गत साउन २६ गते यसलाई प्रादेशिक कार्यालयमा अधिकार हस्तान्तरण गर्ने निर्णय गरिएको थियो । नेपाल बिद्युत प्राधिकरण प्रादेशिक कार्यालय कोशीका उप–निर्देशक पवन गुप्ताका अनुसार केन्द्रीय कार्यालयले प्रदेशमा अधिकार हस्तान्तरण गर्दासम्म देशभर ७५० चार्जिङ्ग स्टेसनका लागि सिफारिस भएको तथ्यांक छ । प्रादेशिक कार्यालय कोशीबाट पछिल्लो तीन महिनायता सिफारिस गर्ने कार्य भइरहेको छ । जसमा १५ वटा चार्जिङ्ग स्टेसनका लागि सिफारिस लगिएको उप–निर्देशक गुप्ताले जानकारी दिनुभयो ।
यद्यपी बिद्युत प्राधिकरण प्रादेशिक कार्यालयमा भने सिफारिस लिएकामध्ये कति चार्जिङ्ग स्टेसन स्थापना भएभन्ने यकिन तथ्यांक अहिले छैन । उप–निर्देशक गुप्ताका अनुसार साउनमा निर्णय गरेयता सिफारिस लाने व्यवसायी सबैबाट ट्रान्सफर्मर माग भएको छैन ।
चार्जिङ्ग स्टेसन स्थापनाका लागि सहज बनाउन प्रदेश कार्यालय वा केन्द्रबाट सिफारिस लिएका व्यवसायीले वितरण केन्द्रबाट यसको जडानसहितको प्रक्रिया पूरा गर्ने सुविधा समेत दिइएको छ । कोशी प्रदेशका १४ जिल्लामा २४ वटा वितरण केन्द्र रहेका छन् । कोशीमा पछिल्लो तीन महिनामा गाडी चार्ज इभी कम्पनीले चार स्थानका लागि सिफारिस लिएको छ । जसमा ताप्लेजुङ्ग, इनरुवा, बेलबारी, अनारमनी र इलाम रहेका छन् । त्यस बाहेक इनरुवा, दमक र विराटनगरमा तीनवटा चार्जिङ्ग स्टेसनका लागि सिफारिस भएका छन् ।
अहिले व्यवसायीहरुले हाइब्रिड सवारी लक्षित गरिरहेको बताउनुभयो । हाइब्रिड भन्नाले कम्बस्चन इन्जिन र इलेक्ट्रीक मोटर दुवै भएको सवारी हो । जसलाई इन्धन वा ब्याट्रीबाट चलाउन सकिन्छ ।
अहिले अनुमति लिएकाहरु ४० देखि २०० किलोवाटसम्म क्षमताका चार्जिङ्ग स्टेसन हुन् । त्यस बाहेक कतिपय व्यवसायीले ३०० किलोवाट क्षमताको समेत अनुमति लिएर आफैं ट्रान्सफर्मर ल्याएपछि प्राधिकरणले जडान गरिदिन्छ । बाँकीको हकमा ट्रान्सफर्मर र मिटरबक्स प्राधिकरणले नै उपलब्ध गराउँदछ । जेनजी आन्दोलनपछि भने अहिले ट्रान्सफर्मरको अभाव भइरहेको जनाइएको छ ।