विराटनगर । घरमा बेरोजगार भएर बसेका गृहणी महिलाहरुलाई गार्मेन्ट सम्बन्धी तालिम पस्चात शतप्रतिशत रोजगारीको व्यावस्था हुने गरि विराटनगरमा महिलाहरुलाई तालिम सुरु गरिएको छ ।
ओरेक नेपाल, युएनएफपीए र विराटनगर महानगरपालिकाको त्रिपक्षीय सहकार्यमा विराटनगर–६ स्थित फहद अप्रिल्स गार्मेन्टमा यो तालिम सञ्चालन सुरु गरिएको हो । ५५ दिनसम्म चल्ने यस तालिमको विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला दीक्षित कार्कीले विधिवत् रुपमा उद्घाटन गरेकी थिईन् । विराटनगरका ७५ जना गृहिणी महिलाहरुलाई सिलाई–कटाईका साथै गार्मेन्ट उद्योगमा प्रयोग हुने आधुनिक मेसिनहरू सञ्चालन गर्ने विशेष प्रशिक्षण दिइनेछ । पुनम शर्मा सहितका ५ जना प्रशिक्षकहरूले हरेक दिन बिहान ९ देखि बेलुका ६ बजेसम्म प्रशिक्षण दिने यस कार्यक्रममा सहभागी हुने सबैलाई तालिम पश्चात् फहद अप्रिल्सले रोजगारी दिने सम्झौता समेत भएको छ।
तालिम उद्घाटन गर्दै उपप्रमुख कार्कीले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन महानगरले विभिन्न सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको र रोजगारीको ग्यारेन्टीसहितको यो तालिमले महिलाहरूको आत्मनिर्भरतामा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । फहद अप्रिल्सका संस्थापक मोहम्मद नसरुलले हाल आफ्नो उद्योगमा ६० जना महिला कार्यरत रहेको जानकारी दिँदै, आगामी दिनमा थप महिलाहरूलाई रोजगारी दिएर यस उद्योगलाई पूर्ण रूपमा महिलाहरू मात्र प्राविधिक र प्रशासक रहेको नमूना गार्मेन्टका रूपमा अन्तर्राष्ट्रिय स्तरमै चिनाउने लक्ष्य रहेको बताए । कार्यक्रममा युएनएफपीएका कोशी प्रदेश संयोजक सरोज भुसाल ,ओरेकका परियोजना संयोजक विशाल बस्नेत लगायतको उपस्थिती रहेको थियो ।