विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास र बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच शनिबार एक आपसमा गाभिने (मर्जर) सम्झाैता भएकाे हाे । सम्झाैता पत्रमा जीवन विकास लघुवित्तका अध्यक्ष विक्रमराज सुवेदी र युनिक नेपालका अध्यक्ष शिवबहादुर चाैधरीले हस्ताक्षर गरेका छन् ।
मोरङको कटहरी गाउँपालिका– २ मा केन्द्रीय कार्यालय रहेको जीवन विकासले १६० शाखा कार्यालय मार्फत कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लाका ३ लाख १५ हजार बढी सदस्यलाई घरदैलोमा पुगेर लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।
बाँके जिल्लाको कोहलपुर नगरपालिका– ११ मा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त पश्चीम नेपालको १० जिल्लामा ८० हजार बढी सदस्यलाई लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।
दुई संस्थाकाे मर्जरपछि सेवा क्षेत्र भने पूर्वी नेपालको झापादेखि पश्चिम नेपालको कन्चनपुरसम्म हुनेछ ।
युनिक नेपालले बाँके, बर्दिया, कैलाली, कन्चनपुर, नवलपरासी रुपन्देही कपिलबस्तु दाङ सुर्खेत र डडेलधुरामा ४१ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।
मर्जरपछि संस्थाको पुँजीगत आधार सेवा क्षेत्र थप बलियो हुनेछ । मर्जर प्रक्रिया अघि बढेसँगै नेपाल धितोपत्र बोर्डको व्यवस्था बमोजिम दुवै संस्थाका आधारभूत शेयर कारोबार रोक्का गरिएको छ । संस्थाको आगामी साधारण सभा सम्पन्न नभएसम्मका लागि यी शेयरधनीहरुको शेयर कारोबार रोक्का रहने जानकारी गराइएको छ ।