विराटनगर । उत्खनन्, प्रशोधन, लोडिङ र ढुवानी लागत बढेको भन्दै क्रसर उद्योगीले ढुंगा, गिट्टी र बालुवाको मूल्य चार हजार प्रतिटिपिर बढाएपछि त्यसको असर निर्माण क्षेत्रमा देखिएको छ । मोरङका निर्माण व्यवसायीले इन्धनको मूल्यको असर निर्माणजन्य सबै सामाग्रीमा परेको भन्दै बहुवर्षे र चालुअवधीका लागि सम्झौता गरेका योजना बढाउन नसकिने स्थिति आएको बताएका हुन् ।
निर्माण व्यवसायी संघ मोरङका सह–कोषाध्यक्ष सन्जय यादवका अनुसार पहिलो ११ हजार प्रतिटिपर पाउने गिट्टी र बालुवाको मूल्य अहिले १५ हजार पुगेको हो । त्यस बाहेक छड, सिमेन्टको मूल्य जोड्दा सम्झौता गरेका परियोजना सम्पन्न हुँदा आफ्नै घरबारी बिक्री गर्नुपर्ने दिन आउने बताउनुभयो । ठूला निर्माण व्यवसायीका लागि र साना तथा व्यक्तिगत निर्माण व्यवसायीका लागि पनि खोलाजन्य वस्तुको मूल्यमा उद्योगीको दर फरक पर्ने गरेको छ । त्यसको कारण, वार्षिक खपतका आधारमा मूल्यमा केहि थपघट हुनु हो ।
अर्का ठेकेदार सन्जीव कार्कीका अनुसार ख र क वर्गका ठेकेदारले पाउने दरमा साना निर्माण व्यवसायीले खोलाजन्य निर्माण सामाग्री नपाउने गरेको बताउँछन् । अहिले ठूला निर्माण व्यवसायीले १५ हजार प्रतिटिपर पाइरहेको बालुवा–गिट्टी सानाका लागि १७ हजार तोकिएको छ । त्यो पनि अहिले उत्पादन छैन, भनेर नदिने प्रयास बढी हुने गरेको कार्की बताउँछन् ।
कोशी क्रसर उद्योग संघका अध्यक्ष शारदाप्रसाद ढकालले उद्योगहरुको उत्पादन लागत बढ्दा स्वभाविक मूल्य बृद्धि भएको बताएका छन् । उनले क्रसर उद्योग र उत्खनन् स्थानको दुरीका हिसाबले उद्योग पिच्छे फरकफरक दर समेत कायम रहेको बताए । मोरङको बेलबारीबाट सुनसरीको इटहरीसम्म ७ घन ढुंगागिट्टी पहिलो ११ हजारमा पुग्थ्यो, अहिले १४ हजार ५०० मा मात्रै पुग्छ । टिपरको वजन क्षमता फरक फरक हुन्छ । अहिले बढेको दर हेर्दा प्रतिघन ३५० देखि ४०० मूल्य बृद्धि भएको हो ।
मोरङमा अहिले २९ वटा क्रसर उद्योग रहेका छन् । उद्योगले उत्पादन गर्ने तर त्यसको ढुवानी गर्ने व्यवसायीले समेत भाडामा छुट्टै बृद्धि भएको शुल्क समेत लिने गरेका छन् ।
अध्यक्ष ढकालले यस पटक समयमै खोला उत्खनन् गर्ने अनुमति नदिएका कारण अहिले यसको कच्चा अभाव भइरहेको जनाएका छन् । जसका कारण प्रशोधन गरिएको वस्तु कम छ । त्यसैले बहुवर्षे ठेक्का प्रणालीका लागि सम्झौता गरेका निर्माण व्यवसायीलाई प्राथमिकतामा राखेपछि मात्रै बाँकी अन्य निर्माण व्यवसायीलाई सामाग्री दिइने गरिएको छ ।