सोनु साह
विराटनगर । पछिल्लो समय विराटनगरमा इन्डक्सन चुल्होको माग उल्लेख्य रूपमा बढ्दै गएको छ। बजारमा खाना पकाउने ग्यासको अभाव तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सर्वसाधारणको ध्यान वैकल्पिक उपायतर्फ मोडिएको देखिन्छ।
इरान, अमेरिका–इजरायलबीचको तनाव तथा युद्धको प्रभावले ग्यास आपूर्तिमा समस्या देखिएपछि उपभोक्ताहरू इन्डक्सनमा आकर्षित भएका हुन्। ग्यास नपाइने अवस्था सिर्जना भएपछि दैनिक रूपमा उपभोक्ताहरू इन्डक्सन किन्न जाने गरेका हुन् ।
विराटनगर–१ स्थित पसल सञ्चालक निलम घिमिरेका अनुसार कोभिड–१९ को समयमा जस्तै अहिले पुनः इन्डक्सनको माग बढेको छ। “बीचमा माग घटेको थियो, तर अहिले ग्यास अभावसँगै फेरि चुल्हा खोज्ने ग्राहक बढेका छन्,” उनले भनिन्। उनका अनुसार पसलमा रहेका सबै चुल्हो बिक्री भइसकेका छन् र नयाँ स्टक ल्याउन समेत कठिन भइरहेको छ। पहिले दैनिक बिक्री नहुने चुल्हो अहिले ५ देखि १० वटासम्म बिक्री हुने गरेको उनले बताइन्।
त्यस्तै, तीनपैनी क्षेत्रका व्यवसायी सन्तोष सन्जेलले पनि ग्यास अभाव र मूल्यवृद्धिका कारण इन्डक्सनको माग एक्कासी बढेको बताए। “ग्राहकहरू विराटनगर मात्र होइन, नजिकैको भारतीय बजार जोगबनीबाट समेत चुल्हा किनेर ल्याइरहेका छन्,” उनले भने। उनका अनुसार दैनिक ५ देखि ७ वटासम्म चुल्हा बिक्री भइरहेको छ।
गुद्री क्षेत्रका व्यवसायी विक्रम शाहले ग्यास आपूर्ति समस्या र महँगीका कारण उपभोक्ताहरू सस्तो र सहज विकल्पको रूपमा इन्डक्सन प्रयोग गर्न थालेको बताए। “अहिले दैनिक ५ भन्दा बढी बिक्री भइरहेको छ,” उनले भने।
व्यवसायीहरूका अनुसार इन्डक्सनको मूल्य हाल बजारमा करिब १ हजार १०० रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म रहेको छ। माग बढेसँगै बजारमा ग्राहकहरूको चहलपहल पनि उल्लेख्य देखिएको छ।
विद्युतिय चुल्हाको प्रयोग बढ्दै जाँदा व्यवसायीहरू उत्साहित भएका छन् भने दैनिक बिक्री बढ्दा आम्दानीमा समेत सुधार आएको उनीहरूको भनाइ छ। साथै, सरकारले विद्युतिय क्षेत्रको विकासमा ध्यान दिएमा यस्ता वैकल्पिक ऊर्जाको प्रयोगले देशलाई दीर्घकालीन रूपमा फाइदा पुग्ने व्यवसायीहरूको विश्वास रहेको छ।