सोनु साह
विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसरमा निर्माणाधीन दुई ठूला भवन समयमै सम्पन्न नहुँदा अस्पतालको दैनिक सेवा प्रवाह प्रभावित बनेको छ। मुख्य गेटको बायाँपट्टि निर्माण भइरहेका आईसीयू, सर्जरी, कार्डिक, न्युरो तथा नेफ्रोलोजी सेवा विस्तारका लागि भवन बन्दैछ ।
संघीय सरकारको बहुवर्षीय योजना अन्तर्गत २५९ शैयाको आधुनिक भवन निर्माण कार्य २०७८ असार २३ गते सम्झौता भई सुरु भएको थियो। सम्झौताअनुसार २०८२ कात्तिक ३० गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म भौतिक प्रगति करिब ५० प्रतिशत मात्र पुगेको छ भने वित्तीय प्रगति ४५.५८ प्रतिशत रहेको छ। करसहित ३८ करोड ८७ लाख ३१ हजार २२६ रुपिँयामा भवन निर्माण सम्झौता भएको हो । तर, यसको कुल लागत भने ६८ करोड ९७ लाख १९ हजार अनुमान गरेको थियो । आयोजना संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगर अन्तर्गत सञ्चालन भइरहेको छ।

निर्माण स्थलका इन्जिनियर श्रवण कुमार यादवले काम अहिले तीव्र गतिमा भइरहेको दाबी गरिए पनि लक्ष्यअनुसार प्रगति हुन सकेको छैन। २०७८ असार २३ गते रमन–भूमि–बिआईपीएल जेभीसँग सम्झौता गरिएको भवनको दोस्रो म्याद २०८० कात्तिक ३० सम्म थपिएको थियो। त्यसपछि पनि निर्माण सम्पन्न नभएपछि पुनः २०८२ कात्तिक ३० सम्म म्याद दिइएको थियो। हाल उक्त म्याद समेत सकिएकाले अब २०८३ असार २५ गतेसम्म अन्तिम पटक समय थपिएको बताइएको छ। यादवका अनुसार अब पनि समयमै काम सम्पन्न नभए ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ। “ढिलाइ रोकिएन भने ठेक्का तोड्ने अवस्था आउँछ,” उनले बताए।
निर्माण ढिलाइका कारण अस्पताल प्रशासनसमेत समस्यामा परेको छ। अस्पतालका अनुसार दैनिक हजारौं बिरामी आउने भए पनि पर्याप्त भौतिक संरचना अभाव हुँदा सेवा व्यवस्थापन गर्न कठिन भइरहेको छ। टिकट काउन्टर थप्नेसम्मका लागि पनि स्थान अभाव रहेको प्रशासनले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार निर्माणाधीन भवन समयमै सम्पन्न भए सेवा विस्तार, स्तरोन्नति तथा व्यवस्थापनमा ठूलो सहजता आउने थियो। तर हालको ढिलाइका कारण बिरामीले अझै केही वर्ष अव्यवस्थित सेवाको मार खेप्नुपर्ने अवस्था देखिएको छ।