विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकास्थित एउटा उद्योगमा काम गर्ने कामदारको लडेर मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–३ स्थित हाईटेक कार्पेट प्रा.लिमा कार्यरत महोत्तरी घर भएका करिब ५० वर्षीय विनोद राय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो करिब ३ः३० बजे उद्योगभित्र रहेको धारामा हात धुने क्रममा उनी अचानक लडेर बेहोस भएका थिए । घटनालगत्तै उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । उपचारका क्रममा शुक्रबार साँझ करिब ६ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।