सोनु साह
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा उपचार सेवा लिने बिरामीहरूले चिकित्सकको लापरबाहीप्रति गम्भीर गुनासो गरेका छन्। समयमै अस्पताल नबस्ने र पालो आएपछि समेत उपचार नगरी बाहिरिने गरेको आरोप बिरामीहरूले लगाएका हुन्।
विराटनगर–रानी मिल्स क्षेत्रका राजनारायण साहका अनुसार उनले बिहान करिब ७ बजे टोकन काटेर लाइनमा बसेका थिए। घण्टौं प्रतीक्षा गरेपछि पालो आए पनि डा. रोशन काफ्ले चिया खान भन्दै बाहिरिएको र पुनः नफर्किएको उनले बताए। पछि अस्पतालका कर्मचारीसँग बुझ्दा डाक्टर मंगलबार मात्र आउने जानकारी पाएपछि आफू छक्क परेको साहले बताए। “बिहान ६ बजेदेखि बसेर पनि उपचार नपाई दिन खेर गयो,” उनले गुनासो गरे।

यस्तै, विराटनगर–३ की शिक्षिका शान्ता शर्माले पनि यस्तै समस्या भोगेको बताइन्। उनले बिदा लिएर बिहान १० बजेदेखि लाइनमा थिइन् । पालो आएपछि डा. उत्तर कुमार मैनाली कुनै जानकारी नदिई बाहिरिएको र पुनः नआएको बताइन्। “१० मिनेट समय दिएको भए पनि चेकजाँच हुन्थ्यो,” उनले भनिन्।


बिरामीहरूले चिकित्सकको यस्तो व्यवहारका कारण दोहोरो समस्या भोग्नुपरेको बताएका छन्। पुनः चेकजाँचका लागि आउन थप खर्च र समय व्यर्थ हुने उनीहरूको भनाइ छ। अस्पताल प्रशासनको लापरबाहीका कारण यस्तो समस्या दोहोरिएको भन्दै उनीहरूले चासो दिन माग गरेका छन्।
यति मात्रै हैन, ओपीडी ब्लकमा चिकित्सकहरुको नेमप्लेट २ बज्नु अगावै हटाउन लगाउने गरिएको छ । यतिसम्मकी चिकित्सकको नेमप्लेट हटाएपछि भित्र कुन चिकित्सक छन् भन्ने समेत ज्ञान सेवाग्राहीलाई थाहा हुँदैन । कसैलाई सोध्दा बोल्नेवाला छैनन् । कोसी अस्पतालमा अहिलेसम्म सुशासन स्थापीत हुनै नसकेको बिरामीले बताउँछन् । कोशीमा बिरामी रोकेर निजी क्लिनिकमा पुग्ने चिकित्सकलाई सरकारले पक्राउ गरेर हदैसम्मको कारवाही गर्नुपर्ने माग गरिएको छ ।यस विषयमा कोशी अस्पतालका मेसु डा. राम नारायण चौधरीले चिकित्सकहरूको कार्यसमय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको र बीचमा एक घण्टा खाजाको समय छुट्याइएको जानकारी दिए। चिकित्सक समयमै नआउने गुनासो आएको स्वीकार गर्दै उनले विभागीय प्रमुख र वार्ड इन्चार्जसँग बैठक बोलाएर आवश्यक निर्णय गरिने बताए।
कोशी अस्पतालमा कर्मचारी र चिकित्सक समयमै उपस्थित नहुने गुनासो विगतदेखि नै उठ्दै आएको छ। केही चिकित्सक अस्पतालभन्दा निजी क्लिनिकमा बढी समय दिने गरेको आरोपसमेत लाग्दै आएको छ।