स्वस्तिका भट्टराई
विराटनगर। सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजानिक दिन गरेको निर्णयले शैक्षिक संस्थाहरु प्रभावित बनेको गुनासो सम्बन्धित क्षेत्रका सरोकारवालाहरुको छ । बर्षभरी धेरै बिदा रहने र हप्तामा पनि दुइदिन बिदा दिनाले पाठ्यक्रम नसकिने र बिद्यार्थीको सिकाई प्रभावित हुने भन्दै निजी विद्यालयका संचालकले असन्तुष्टि जनाएका हुन् ।
वि. सं. २०६५ सालदेखि संचालनमा आएको अर्किड कलेजका प्रिन्सिपल दिपेश बास्तोला भन्छन्, “ विद्यार्थीको पढेको दृष्टिकोणले हेर्ने हो भने यो निर्णय एकदम नै गलत निर्णय हो।” हप्तामा ६ दिन विद्यालय खुला रहदा समेत विद्यार्थीको पाठ्यक्रम र अतिरिक्त कार्यक्रमलाई साथै लग्न गाह्रो हुने अब झन् ५ दिन मात्रै विद्यालय खुल्ने भएपछी सिकाई प्रक्रियामा बाधा पुग्ने उनले बताए। दिर्घकालिन रुपले हेर्ने हो भने यो निर्णय घातक साबित हुन सक्ने उनको बुझाई छ।
तर, उनि थप्छन् , “व्यक्तिगत रुपमा उर्जा संकटको दृष्टिकोणले यो निर्णयलाई हेर्ने हो भने, विश्वका अरु देशहरुमा पनि यो अभ्यास भएको छ, हामीले पनि उर्जा संकट समाप्त नहुन्जेलसम्म यो अभ्यास गर्न सक्छौ। तर दिर्घकालिन रुपमा भने यो त्यति प्रभावकारी न हुन सक्छ ।” त्यस्तै प्याब्सन मोरङ्गका अध्यक्ष प्रेम सुवालको पनि मिल्दो जुल्दो विचार रहेको छ । हप्तामा दुईदिन बिदा दिनाले घरमा अभिभावक लाई पनि समस्या हुने अनि विद्यालयमा पनि विद्यार्थीको कोर्ष पुरा नहुने उनको बुझाइ छ । उनी भन्छन्, त्यसै पनि शैक्षिक संस्थामा धेरै नै बिदा दिने गरिएको छ । अझै अरु पनि बिदा थपिँदा शैक्षिक संस्थाको उदेश्य परिपूर्ति हुँदैन ।
विश्वमा यस्तो अभ्यास हुँदै आएको तर अरु देखको परिवेश र नेपालको परिवेशमा भिन्नता भएका कारण ती देशहरूमा यो योजना व्यावहारिक भए पनि नेपालको हकमा यो व्यावहारिक नहुन सक्ने उनको बुझाइ छ । नेपालको हकमा दुई दिन विदाले पर्यटन प्रवर्धन बढ्ने तर दैनिक जीवनमा उपयोगी भने खासै नहुने उनी बताउँछन् । पर्यटकीय र ऊर्जा खपतको दृष्टीकोणले हेर्दा यो अभ्यास प्रभावकारी देखिएपनि विद्यार्थीको भविष्यको दृष्टीकोणले हेर्ने हो भने यो अभ्यास खासै प्रभावकारी भने नदेखिएको शैक्षिक संस्थाका सञ्चालकहरूको बुझाइ रहेको छ ।
उद्योग, बैकिङ्ग क्षेत्रभन्दा शैक्षिक क्षेत्र धेरै विदा हुने क्षेत्र पर्दछ । प्याप्सन मोरङका अध्यक्ष सुवालका अनुसार पहिले २२५ दिन निजी विद्यालयहरु लाग्ने गर्दथ्यो । अब यसमा थप ५२ दिन विदा थपिएको छ । त्यो हुँदा १७३ दिन मात्रै पढाई हुनेछ । शैक्षिक सत्र समेत बैशाख १५ गतेलाई सारेका कारण, पाठ्यक्रम सकिन मुस्किल रहेको उनी बताउँछन् ।
अध्यक्ष सुवालले भने–सरकारको निर्णय त मानेर जान्छौं, तर पाठ्यक्रममा उल्लेख भएका सबै कुरा विद्यार्थीलाई कसरी सिकाउने भन्ने जुक्ति पनि सिकाईदिनुपर्छ ।