विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बुधबार विराटनगरस्थित कोशी अस्पतालको निरीक्षण गरेकी छन्। दिउँसो करिब ३ बजे स्वास्थ्य मन्त्रालयको टोलीसहित अस्पताल पुगेकी मन्त्री मेहताले इमरजेन्सी, ओपीडी सेवा तथा निर्माणाधीन भवनहरूको अवलोकन गरेकी हुन्।
निरीक्षणका क्रममा उनले अस्पतालको सरसफाइ, सेवा प्रवाह तथा समग्र व्यवस्थापनबारे जानकारी लिएकी थिइन्। अस्पताल परिसरमा निर्माणाधीन दुई भवनबारे प्रोजेक्ट म्यानेजरसँग छलफल गर्दै उनले निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएकी छन्। कम्पनीका प्रतिनिधिले भने निर्धारित समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।
मन्त्री मेहताले अस्पतालमा देखिएका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै औषधि अभावसम्बन्धी गुनासो समाधान गर्न सम्बन्धित पदाधिकारीसँग छलफल गर्ने जानकारी दिइन्। साथै, चिकित्सक समयमै नआउने तथा समयअघि नै बिरामी छोडेर जाने गुनासो धेरै आएको उल्लेख गर्दै यस विषयमा कडाइका साथ सुधार गरिने उनले बताइन्।
उनले बिरामी तथा सेवाग्राहीलाई अस्पतालमा कुनै समस्या परेमा मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० समक्ष गुनासो राख्न आग्रह गरिन्। त्यहाँबाट समाधान नभए स्वास्थ्य मन्त्रालयको वेबसाइटमार्फत पनि गुनासो गर्न सकिने उनले जानकारी दिइन्।
मन्त्री मेहताले अस्पतालका मेसु राम नारायण चौधरीलाई सेवा सुधार गर्न निर्देशन दिँदै बिरामीलाई कुनै किसिमको असुविधा नहुने गरी काम गर्न चिकित्सक तथा कर्मचारीलाई आग्रह गरिन्। निरीक्षणका क्रममा उनले बिरामीहरूसँग प्रत्यक्ष भेटघाट गरी गुनासो सुन्नुका साथै बेडमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। अस्पतालका प्रयोगशालाहरूको समेत उनले निरीक्षण गरिन्।
नेपालमा सरकार र स्वास्थ्य मन्त्री परिवर्तन भइरहे पनि कोशी अस्पतालको अवस्थामा अपेक्षित सुधार हुन नसकेको सर्वसाधारणको गुनासो रहँदै आएको छ। विगतमा पटक–पटक निरीक्षण भए पनि सुधार न्यून देखिएको अवस्थामा यसपटक नयाँ सरकार र नयाँ स्वास्थ्य मन्त्रीसँग जनताले आशा राखेका छन्।