विराटनगर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालयले प्रदेशका ६ जिल्लामा रहेका ३३ वटा खाद्य प्रशोधन तथा उत्पादन उद्योगहरूको अनुगमन तथा निरीक्षण गरेको छ।

कोशी प्रदेशमा व्यावसाय र मानव अधिकारको अवस्था बुझ्ने उद्देश्यले झापा, मोरङ, सुनसरी, इलाम र धनकुटा जिल्लामा रहेका उद्योगहरूमा पुगेर अनुगमन गरिएको मानव अधिकार अधिकृत यमराज आङदेम्बेले जानकारी गराएका छन् ।
कोशी प्रदेश कार्यालयले बुधबार विराटनगरमा व्यावसाय र मानव अधिकारसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको प्रस्तुतीकरणको क्रममा उनले सो कुराबारे जानकारी गराएका हुन् ।

उनका अनुसार अनुगमनका क्रममा अधिकांश उद्योगहरू दर्ता प्रक्रिया, श्रम ऐन तथा खाद्य गुणस्तर मापदण्डअनुसार सञ्चालनमा रहेको पाइएको छ। “हामीले हेर्दा धेरै उद्योगहरू कानुनी मापदण्डअनुसार नै सञ्चालन भइरहेको पाइयो, तर सरकारी निकायहरूले नियमित रूपमा अनुगमनलाई अझ प्रभावकारी बनाउन आवश्यक छ,” आङदेम्बेले बताए।

उनले उद्योगहरूमा श्रमिक अधिकार, सुरक्षित कार्य वातावरण र खाद्य सुरक्षाको विषयमा थप सुधारको सम्भावना रहेको पनि उल्लेख गरे । कार्यक्रममा उद्योगी, सरोकारवाला निकाय तथा मानव अधिकारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा व्यावसायिक क्षेत्रमा मानव अधिकारको अवस्था, चुनौती र सुधारका उपायबारे व्यापक छलफल गरिएको थियो ।