सोनु साह
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा निर्माणाधीन ५०० शैयाको अत्याधुनिक मेडिकल भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। हालसम्म उक्त परियोजनाको भौतिक प्रगति करिब ४० प्रतिशत पुगेको जनाइएको छ भने समग्र प्रगति ३९ प्रतिशत रहेको छ। करिब २ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा १० प्रतिशत मूल्य समायोजन र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) समेत समावेश गरिएको छ। निर्माण कार्य के.सी. कन्स्ट्रक्सन फर्म प्रालि, कुपण्डोलले जिम्मा लिएको हो।


सम्झौता अनुसार २०७९ फागुन १९ गतेदेखि निर्माण सुरु भएको यस परियोजनामा सुरुवाती चरणमा साइड क्लियरेन्स ढिलाइ हुँदा समयमै काम सुरु हुन सकेको थिएन । त्यहि कारणले निर्माण पहिलो पटक म्याद थप गरिएको थियो। हाल दोस्रो म्याद अनुसार २०८४ मंसिर १२ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अहिलेसम्म करिब ७४ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।
यसैबीच, बिहीबार संघीय सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले निर्माणाधीन भवनको स्थलगत निरीक्षण गरेकी थिइन्। निरीक्षणका क्रममा उनले निर्माण कार्यलाई तीव्रता दिँदै तोकिएको समयभित्रै सम्पन्न गर्न निर्देशन दिएकी थिइन्।
निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजरले भने निर्धारित समयअगावै काम सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
हाल कोशी अस्पतालमा भवन अभावका कारण दैनिक सयौं बिरामीको चाप व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ। टिकट काउन्टर, ओपिडी, फार्मेसी तथा बीमा सेवा जस्ता क्षेत्रहरूमा पर्याप्त स्थान नहुँदा सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने बाध्यता छ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट राम नारायण चौधरीका अनुसार नयाँ भवन समयमै निर्माण सम्पन्न भए सेवा प्रवाह सहज हुने र बिरामीले भोग्दै आएको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ।