विराटनगर । मोरङको कटहरी गाउँपालिकालाई आगामी वैशाख ११ गते ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा गर्ने तयारी सुरु गरिएको छ । यसै अभियान अन्तर्गत सोमबार वडा नम्बर ७ लाई एक विशेष कार्यक्रमका बीच ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा गरिएको हो ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष देवराज चौधरी, उपाध्यक्ष सीता देवी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरी र वडा नम्बर ७ का अध्यक्ष मनोज कुमार माझीको उपस्थिति रहेको थियो । वडा नम्बर ७ भित्र रहेका ३२० जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप लगाएको सुनिश्चित भएपछि यस वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष देवराज चौधरीले स्वास्थ्य क्षेत्रमा पालिकाले ठुलो फड्को मारिरहेको बताए । ‘आज वडा नम्बर ७ लाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका छौँ, अब विस्तारै अन्य वडाहरूलाई पनि घोषणा गर्दै वैशाख ११ गते भव्य कार्यक्रमका बीच सिङ्गो पालिकालाई नै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्ने योजनामा रहेको उनले जानकारी दिए ।