विराटनगर । २०८३ सालको नयाँ वर्षको दिन वैशाख १ गते अर्थात् मंगलबार कोशी प्रदेशमा ३५ वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । विभिन्न दुर्घटनामा ६८ जना घाइते भएका छन् ।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । ६४ जनाको सामान्य रहेको र विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । प्रहरीका अनुसार झापा, इलाम, पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर, धनकुटामा दुर्घटना भएका हुन् ।
झापामा भएको दुर्घटनामा भनेर सशस्त्रका सहायक हवल्दारको मृत्यु भएको छ । अर्का सहायक हवल्दार घाइते भएका छन् । मदन भण्डारी राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–२ दुर्गा मन्दिरमा मंगलबार साँझ ५ः३० बजेतिर मोटरसाइकल दुर्घटनामा परेको थियो ।
कोशी प्रदेशका ट्राफिक प्रहरी प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा पछाडि सवार सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ वर्षीय सचिन तामाङको मृत्यु भएको छ । उनका अनुसार पाँचथरको फिदिम नगरपालिका–१२ घर भई सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउट पोस्ट) बाहुनडाँगीमा कार्यरत तामाङ दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा बिर्तामोडको बी एन्ड सी अस्पतालमा साँझ ६ः४५ बजेतिर मृत्यु भएको जानकारी श्रेष्ठले दिए । दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका–१ घर भई बीओपी बाहुनडाँगीमै कार्यरत सशस्त्रकै सहायक हवल्दार ४० वर्षीय डिल्लीराम सुवदी घाइते भएका छन् । हातमा सामान्य चोट लागेका उनको बी एन्ड सीमै उपचार भइरहेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कोशी प्रदेशका अन्य स्थानमा मंगलबार बिहान ७ बजेदेखि राति ९ः२० बजेसम्ममा भएको दुर्घटनामा परेर ६८ जना घाइते भएका छन् ।