विराटनगर । शैक्षित्र सत्रको परिवर्तित मिति भन्दा अगावै विद्यालयको पठनपाठन सञ्चालन गराउन अभिभावक संघले माग गरेको छ । अभिभावक संघ नेपाल, मोरङले अविलम्ब विद्यालय सञ्चालन गरी पठनपाठन सुचारु गर्न सम्बन्धित निकायसँग आग्रह गरेको हो ।
शैक्षिक सत्रको परिवर्तित अवस्थाबारे छलफल गर्न बसेको संघको आकस्मिक बैठकले विद्यालय ढिलाइ हुँदा विद्यार्थी र अभिभावक दुवैमा समस्या बढेको निष्कर्ष निकालेको छ । त्यसका लागि चाँडो कक्षा सञ्चालन हुनुपर्ने माग छ । जिल्ला अध्यक्ष खगेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकमा विराटनगर, उर्लाबारी, लेटाङ, सुन्दरहरैंचा, रंगेली, जहदा लगायत क्षेत्रका अभिभावकहरूको सहभागिता रहेको थियो।
प्रदेश अध्यक्ष देवी पन्थीका अनुसार शैक्षिक तालिका परिवर्तनका कारण विद्यार्थीको दैनिकी प्रभावित भएको छ। अभिभावकका लागि समेत तनाव बनिरहेको यो विषय शैक्षिक पाठ्यभारमा समेत असर पर्ने संभावना हुने उनको भनाई छ । भेलाले बैशाख ९ गतेभित्र विद्यालय सञ्चालन गरी नियमित पठनपाठन सुचारु गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
बैठकमा लेटाङ नगरपालिका संयोजक तथा जिल्ला उपाध्यक्ष वेदेन्द्र श्रेष्ठले स्थानीय तह र शिक्षा इकाइले आफ्नो अधिकार प्रयोग गरी विद्यालय तत्काल सञ्चालन गर्नुपर्ने धारणा राखे। बैठकले श्रेष्ठलाई सामुदायिक सामुदायिक विद्यालय अनुगमन समितिको संयोजकको जिम्मेवारी पाएका छन् ।