विराटनगर । विराटनगरमा युवाहरूले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। पञ्चमुखी युवा समाजको आह्वानमा स्थानीय युवाहरूको सक्रिय पहलमा असक्त, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकहरूका लागि निःशुल्क ‘सिटी सफारी’ सेवा सञ्चालनमा ल्याइएको हो।
विशेषगरी विराटनगर महानगरपालिका वडा नं. ११, १२ र ६ का बासिन्दालाई लक्षित गर्दै सुरु गरिएको यो सेवा अन्तर्गत दुई वटा सिटी सफारी निःशुल्क रूपमा उपलब्ध गराइएको छ। दैनिक आवतजावतमा कठिनाइ भोगिरहेका असक्त तथा वृद्धवृद्धालाई सहजता प्रदान गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको युवाहरूले बताएका छन्।
स्थानीय तहमा युवाहरूको यस्तो मानवीय पहलले समाजमा सकारात्मक सन्देश फैलाएको छ। धेरैले यो अभियानलाई अनुकरणीय भन्दै अन्य क्षेत्रमा पनि यस्तै कार्यहरू विस्तार हुनुपर्ने बताएका छन्।