विराटनगर भन्सारबाट भित्रिन्छ सबैभन्दा धेरै चाइनिज स्याउ, सीमा कडाई हुँदापनि पुग्छ भारत

<span class='c1'>विराटनगर भन्सारबाट भित्रिन्छ सबैभन्दा धेरै चाइनिज</span> <span class='c2'>स्याउ, सीमा कडाई हुँदापनि पुग्छ भारत</span>

विराटनगर । विराटनगर भन्सार कार्यालयको तथ्यांक हेर्ने हो भने, चालु आर्थिक वर्ष २०८२÷२०८३ को साउनदेखि २०८२ चैत ३० गतेसम्ममा २ करोड ११ लाख ३२ हजार ९९५ केजी स्याउ भित्रिएको छ । भन्सार विभागको तथ्यांक अनुसार देशभरका नाकाबाट चालु आर्थिक वर्ष ४ करोड ९७ लाख ८४ हजार १७४ केजी आएको छ । देशभरका भन्सार नाकाबाट भित्रिएको सबै स्याउमा झण्डै आधा विराटनगर भन्सार कार्यालयबाट मात्रै भित्र्याइएको छ । गतवर्षको यहि अवधीमा विराटनगर भन्सार ९७ लाख ४६ हजार ६८४ केजी मात्रै भित्रिएको थियो । चालु आर्थिक वर्षको नौ महिनामा गतवर्षको भन्दा दोब्बर बढी स्याउ भित्रिएको छ ।

कहाँ जान्छ स्याउ ?
यति धेरै मात्रामा भित्रिएको स्याउ स्थानीय बजारमै खपत हुन्छ ? यो नाकाबाट भित्रिएको स्याउ नेपालमै खपत हुन्छ की भारत पुग्छ । भारत लैजान कुनै वैधानिक व्यवस्था भने छैन । भारतमा चाइनिज स्याउ आयात नहुँदा नेपालबाट अवैध निकासी हुने गरेको छ । त्यो पनि अवैध बाटोबाट । सीमा नाकामा स्थानीय प्रशासनले अत्यन्तै कडाई गरिरहेका बेला गत बिहीबार सुनसरीको भन्टाबारी नाका हुँदै दुई ट्रक स्याउ भारत पुगेको थियो । पूर्वमा खासगरी चाइनाबाट विराटनगरमा स्याउ आयात गरेर भारतमा अवैध निकासी गर्दै आएका व्यापारीको स्याउ भन्टाबारी नाकाबाट बाहिरिएको होे । तर, सीमा क्षेत्रमा प्रशस्त कडाई गरिएको दावी स्थानीय प्रशासनले गर्दै आएको छ । झोलेपोकेलाई छामछुम र माइकिङ्ग गरेर एकसय रुपैँयासम्मको मात्रै सामान ल्याउन पाइने नत्र भन्सार लाग्ने भनिएको छ ।
भन्टाबारी मात्रै हैन, चाइनाबाट वैधानिक भित्रिएको स्याउ भारतसम्म अवैध सेटिङमा चैत २७ गतेसम्म गइरहेको थियो । त्यसपछि नयाँ सरकारको हाउभाउ जिल्लामा सुरक्षा संयन्त्र देखाउन थालेपछि मथ्थर जस्तो देखियो । तर, त्यहि मथ्थरताकाबीच पनि बिहीबार विराटनगरका व्यापारीको स्याउ भन्टाबारीबाट निकासा भएको थियो । यसमा सेटिङको चाबी कसले चलाए भन्ने अहिलेसम्म बाहिर आएको छैन ।

भन्टाबारी मात्रै नभई मोरङको नोचा, कदमाहा र डुमरियानाका हुँदै भारतको सुन्द्रीमोठको बाटो समेत चाइनाको स्याउ भारत पुग्दै आएको छ । केहिवर्ष अगाडीसम्म विराटनगर १८ भेडियारीबाट समेत स्याउ जाने गरेको थियो । तर, नाका र सेटिङ गर्ने व्यक्ति एक्स्पोज भएपछि भेडियारीको सट्टा डुमरिया नाकाबाट स्याउ जान थालेको थियो । त्यसबाहेक बर्जु गाउँपालिकाको साहेबगञ्ज, जनकपुरबाट पूर्वका व्यापारीको स्याउ भारत जाँदैछ । यता कडाई हुन खोजे बिरगञ्ज नाकाबाट समेत मुस्कान कुसवाहमार्फत स्याउ यो बीचमा भारत पुगेको खुलेको छ । झापामा अहिले स्याउको अवैध निकासीमा एकदमै कडाई गरिएको छ । झापामा कडाई गरिएपछि यसलाई मोरङ र सुनसरीका नाकामा केन्द्रीत गरिएको हो । तर, अहिले झापाको कचनकवलबाट स्याउ लैजान हुलाकी राजमार्गलाई प्रयोग गर्न समेत प्रयास भइरहेको एकजना जानकार बताउँछन् ।

सीमामा सेटिङ मिलाउने र जहाँ मिल्छ त्यहाँ नजिकको कोल्डस्टोर प्रयोग गर्ने व्यापारीको नीति बढी हावी भइरहेको छ । त्यसका लागि सम्बन्धित क्षेत्रमा सेटिङ मिल्ने प्रहरी अधिकृतको खोजी गर्ने गरिएको छ । अहिलेसम्म दुहबीसहित सुनसरीका सीमा नजिक रहेका कोल्ड स्टोर, रंगेलीको कोल्डस्टोरमा स्याउ भण्डारण गर्ने नीतिमा व्यापारी छन् । त्यस बाहेक विराटनगरका कोल्डस्टोरमध्ये जसले फलफुल आयात गर्छ उसकै बर्चश्व रहेको छ ।
विराटनगरमा स्याउ आयात गर्ने मुकेश चौधरीको दिव्यानी इन्टरप्राइजेज, विजय अग्रवाल (तोदी) अंकुर ट्रेडर्स, विजय चौधरीको विजय फ्रुट, नागेन्द्र दास परिवार भित्रको नागेन्द्र ट्रेडर्स, लक्ष्मण ट्रेडर्स, लक्ष्मी फ्रुर्ट, विराटनगर ९ स्थित अजय र विजय साहका व्यापारिक फर्मसहित काबिया र नियती फ्रुट ट्रेडर्स छन् । यिनीहरुले आयात गरेको स्याउ भारत पु¥याउन केहिवर्ष अगाडीसम्म जगदीस साहसहितले सीमा सेटिङको काम गर्दै आएका थिए । अहिले पनि मोरङ सुनसरीका नाकामा धेरै सेटिङमा उनको रोल हुने गरेको छ ।
विराटनगरमै चाइनाबाट फुजी स्याउ पहिलो पटक भित्र्याएका विजयी तोदीको कारोबारबारे यस अगाडी समेत प्रश्न उठेको थियो । तोदीले वैधानिक भित्र्याउँदै आएको स्याउ अवैध निकासी गर्नका लागि ठूलो समूह नै परिचालन गर्दै आएका छन् ।

विराटनगरका एक व्यापारीका अनुसार फलफूलका आयातकर्ताले सीमा नजिकका घरमा पु¥याएर स्याउ स्टोर गर्ने अनि रातभर टाउकोमा बोलाएर भएपनि कार्टुन सीमा कटाउने गरेको अनुभव सुनाउँछन् । त्यसरी पु¥याएको स्याउमा पनि नाफा नै हुने गरेको छ । नेपालमा चार हजार रुपैँया पर्ने स्याउ भारतमा पाँच हजार रुपैँयामा बिक्री हुने गरेको उनको बुझाई छ । भारतमा चीनको फुजी स्याउ आयात हुँदैन । त्यसैले चाइनाबाट नेपालका आयतकर्ताले मगाएको स्याउ भन्सारको बाटो प्रयोग नगरी भारत पु¥याउन दुवै देशका सीमा सेटिङबाजहरु सक्रिय हुने गरेका छन् । यस अगाडी कोसी गाउँपालिका–७, श्रीपुरको लाही नाकाबाट तीनवटा ट्रक भारततर्फ पुगेपछि त्यहाँ भारतीय प्रहरीले समाएको थियो । यो नाका पनि अहिलेसम्म चालु रहेको छ ।

के भन्छन् आयातकर्ता ?
चाइनाबाट स्याउ आयात गरेर कारोबार गर्दै आएका दिब्यानी इन्टरप्राइजेजका मुकेश चौधरी अहिलेको महंगीमा स्याउ भन्दा चामल प्राथमिकता रहेको बताउँछन् । उनको आशय स्याउ आयात भएपनि बिक्री छैन । मध्यपूर्व तनावका कारण बढ्दो महंगीले धेरैको ध्यान स्याउमा नभएको उनी बताउँछन् । दिब्यानीका प्रतिनिधि बिनोद चौधरीले यस विषयमा भेटेर आफ्ना कुरा राख्ने भन्दै बारम्बार बताएपनि समय भने दिएनन् । अर्का बजरंग रौनियारले समेत कुरा गर्न मानेनन् । विराटनगर ११ स्थित नागेन्द्र ट्रेडर्सका दिलिप दासले भने आयात भएको स्याउ नेपालभर जहाँसुकै बिक्री भइरहेको बताए । आफूले बिक्री गरेको स्याउ भारत जान्छ भने त्यसको जिम्मेवारी आफ्नो नभएको उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्