सोनु साह
विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित शम्भु टोलका बासिन्दाहरूले बस्ती हटाउने सूचनाविरुद्ध सोमबार सडकमा उत्रिएर विरोध प्रदर्शन गरे । दिउँसो करिब ४ बजे बालबालिका,महिला र पुरुषसम्म करिब ३०–४० जनाको समूहले पोस्टर र पम्प्लेटसहित प्रदर्शन गर्दै रोडशेषदेखि भारतको जोगबनी जाने मुख्य सडक अवरुद्ध गरेका थिए।
स्थानीयले सडक अवरुद्ध गर्नुको कारणबारे बुझ्दा २०८२ चैत २४ गते सुनसरी–मोरङ सिँचाइ आयोजनाले जारी गरेको सूचनाप्रति असन्तुष्टि रहेको बताएका छन्। उक्त सूचनामा चतरा मूल नहर, दुहबी–सुनसरी सबमाइनर तथा विभिन्न शाखा र माइनर नहर आसपासका क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाउन ३५ दिनको समय दिइएको छ। तोकिएको अवधिमा संरचना नहटाए कानुनी प्रक्रिया अपनाइने र कार्यालयल आफैंले हटाउने चेतावनी समेत दिइएको छ।
यस निर्णयले शम्भु टोलका करिब २०० घरधुरी प्रभावित हुने स्थानीयको भनाइ छ। टोलवासी संजय राउतका अनुसार उनीहरु विगत ४० वर्षदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका छन्। “सरकारले वैकल्पिक व्यवस्था नगरी ३५ दिनभित्र घर खाली गर्न भन्नु गरिबमाथि अन्याय हो,” उनले भने। उनले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने आफूहरूलाई भाडामा बस्नसमेत कठिन रहेको बताए।
स्थानीय विना देवी साहले चुनावका बेला जनप्रतिनिधिबाट लालपुर्जा दिलाइदिने प्रतिबद्धता आए पनि कार्यान्वयन नभएको गुनासो गरिन्। “घर भत्काएपछि कहाँ जाने, बालबालिकालाई कहाँ राख्ने उनले प्रश्न गरिन्। त्यस्तै रेखा ऋषिदेवले न्यून आयका कारण घर भाडा तिर्न नसक्ने अवस्था रहेको बताउँदै वैकल्पिक बसोबासको माग गरिन्।
स्थानीयका अनुसार आफूहरू बाटो विस्तारका लागि केही जमिन दिन तयार भए पनि आयोजनाले सम्पूर्ण क्षेत्र खाली गराउन खोजेको आरोप छ। “मिहिनेत गरेर बनाएको घरमा डोजर चलाउने हो भने हाम्रो सहारा के हुन्छ” उनीहरूले प्रश्न गरेका छन्।
प्रदर्शनका कारण करिब २० मिनेटसम्म सडकमा सवारी आवागमन अवरुद्ध भएको थियो। पछि स्थानीय प्रशासन र प्रहरीको टोलीले सम्झाइबुझाइ गरेपछि प्रदर्शनकारीले अवरोध फिर्ता लिएका थिए। प्रहरीले सम्बन्धित निकायसँग छलफल गर्न आग्रह गरेपछि स्थानीयले सहमति जनाएका छन्।
उक्त नहर क्षेत्रभित्र पर्ने जमिनमा करिब ५० वर्षदेखि पुस्तौँहरु बसोबास गर्दै आएको दाबी स्थानीयले गरेका छन्। शम्भु टोलमा विभिन्न जातजातिका करिब २०० घरधुरी बसोबास गर्दै आएका छन्।