विराटनगर । विराटनगर महानगरपालिकाले बैशाख ११ गतेदेखि नै फुटपाथ क्लियर गर्ने तयारी गरिरहेको छ । बजार क्षेत्रको अव्यवस्था हटाउन फुटपाथ क्लियर गरिने भएको हो । मंगलबार विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, निजी क्षेत्रका पदाधिकारी समेतको उपस्थितिमा तीन महत्वपूर्ण निर्णय भएका छन् ।
जसमा वैशाख ११ गतेदेखि मुख्य बजार तथा आसपासका क्षेत्रको फुटपाथ व्यवस्थापन गरिनेछ । त्यसका लागि बुधबार र बिहीबार माइकिङमार्फत व्यवसायी र सर्वसाधारणलाई सचेत गराउने कार्यक्रम सुरु भएको छ ।
सडकपेटीमा भइरहेको अव्यवस्थित व्यापार, सटरबाहिर सामग्री राख्ने प्रवृत्ति र ट्राफिक अवरोधलाई लक्षित गर्दै नियम कडाइ गर्ने भएको हो । त्यो बाहेक बजारभरी जताततै ठेलामा राखेर फलफूल, पुच्का, चाउमीन जस्ता वस्तु बिक्री हुँदै आएको छ । यसलाई अब निश्चित स्थान तोकेर जोनमा सारिने भएको छ । बजारका सडक पेटी कब्जा गरेर जथाभावी बिक्रीबितरण गर्न नपाउने गरी यसको अध्ययन थालिएको छ । महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार फुटपाथ क्लियर गर्ने विषयमा कुनैपनि सम्झौता गरिनेछैन । दुईदिनमा व्यापारी र व्यवसायीले आफैं गरे, ठिकै छ नत्र सामान उठाउने छ ।
त्यस बाहेक कोशी राजमार्गसहित बजारका विभिन्न मोटरसाइकल ग्यारेजले सिर्जना गरेको समस्या हल गरिने भएको छ । सडक कुरुप नै बनाएका ग्यारेजले आफ्नो व्यवसाय गर्दा फुटपाथ मिचेका मात्रै छैनन, सहर फोहोर बनाएका छन् । त्यसलाई नियन्त्रण गरिने भएको छ ।
फुटपाथ व्यवस्थापनसँगै ट्राफिक चाप न्यूनीकरण र व्यवस्थित पार्किङको दीर्घकालीन समाधान खोज्न महानगरले सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहालको संयोजकत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष न्यौपाने, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, खुद्रा व्यापार संघ विराटनगरका अध्यक्ष सञ्जयकुमारसिंह मण्डल सदस्य र नगर प्रहरीका प्रमुख राजन पौडेल सदस्यसचिव रहेको समितिसमेत गठन गरेको छ । यो समितिले ठेला व्यवस्थापन, पार्किङ क्षेत्र निर्धारण र ट्राफिक प्रवाह सुधारसम्बन्धी सुझावसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ । प्रतिवेदनका आधारमा महानगरले चरणबद्ध रूपमा सुधारका कार्यक्रम लागू गर्ने योजना बनाएको छ ।
बजार क्षेत्रको फुटपाथ नियन्त्रण र सिंघिया, केशलिया खोलाको अवैध उत्खनन्लाई रोक्ने विषयमा जिल्लास्थित सबै निकायले समन्वय गर्नेछन् । यो विषयलाई महानगरपालिकाको मात्रै नभई सुरक्षा संयन्त्रको समेत बनाएर कार्यन्वयनमा ल्याइने भएको छ ।
बैठकमा मोरङ निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, सशस्त्र प्रहरीका एसपी गेहेन्द्रबहादुर भण्डारी, जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपाने, उद्योग संगठन, मोरङ उद्योग व्यापार संघ, विराट व्यापार संघ, खुद्रा व्यापार संघलगायतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।