विराटनगर । मापदण्ड विपरीत सडकमा अतिक्रमण गरेर व्यावसाय संचालन गर्नेहरु प्रति विराटनगर महानगरपालिकाले आजबाट कडाईका साथ अगाडी बढ्न थालेको छ ।

विराटनगर महानगरपालिकाले बजार क्षेत्रलाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यसहित शुक्रबार विहानैबाट फुटपाथ हटाउने अभियान सुरु गरेको हो ।
विराटनगर महानगरपालीकाकी उपप्रमुख शिल्पा निरला कार्कीसहितको टोलीले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको हो । उनले अधिकास व्यापारीहरुलाई हात जोड्दै यो अभियानमा साथ दिन आग्रह गरिरहेकी थिईन् ।

महानगरले मुख्य बजार क्षेत्रका अव्यवस्थित रूपमा राखिएका पसल, ठेला र अस्थायी संरचना हटाउने तयारीमा जुटिसकेको छ । केहीदिन अघि महानगरले यहाँका सरोकारवाला निकायहरुसँगको छलफल र बहसपछि बजार एरीयाका अव्यस्थित संरचनाहरु हटाउने निर्णयमा पुगेको थियो ।

यसअघि महानगरले दुई दिनसम्म माइकिङ गरेर व्यवसायी र सर्वसाधारणलाई सचेत गराएको थियो ।

शुक्रबारबाट नगर प्रहरी र नेपाल प्रहरी सहितको टोलीले बजार क्षेत्रको फुटपाथमा राखिएका सामग्री हटाउने अभियान सुरु गरेको हो । बजार क्षेत्रमा व्यापारीहरुले अब पनि अटेर गरे सामान जफत सम्म हुने विराटनगर महानगरपालिकाका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

