विराटनगर । युवाहरूको व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित विराटनगर जेसीजले आयोजना गरेको उत्प्रेरणामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरूले आफ्ना अनुभव र संघर्षका कथामार्फत सहभागीहरूलाई प्रेरित गरेका थिए । लायन्स डिस्ट्रीक्ट ३२५ सी का पूर्व डिस्ट्रीक्ट गभर्नर तथा मोरङ सहकारी अस्पताल र एस्पायर कलेजका सञ्चालक विकास अधिकारी, ओबि मिडिया प्रा.लि.का सञ्चालक तथा युवा व्यवसायी विवेक दाहाल र नेपाल जेसीजका उपाध्यक्ष अनिष भट्टराईले युवाहरूलाई सकारात्मक सोच, लक्ष्य निर्धारण र निरन्तर प्रयासको महत्वबारे मार्गदर्शन दिएका थिए ।
उनीहरूले सफलताको यात्रा सजिलो नहुने तर दृढ इच्छाशक्ति, अनुशासन र स्पष्ट लक्ष्य भए असम्भव केही नरहेको सन्देश दिएका थिए । कार्यक्रममा सहभागी युवाहरूले वक्ताहरूका प्रेरणादायी विचारबाट ऊर्जा प्राप्त गरेको बताएका थिए ।
विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालका अनुसार कार्यक्रमले युवाहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै उनीहरूलाई आफ्नो लक्ष्यप्रति केन्द्रित हुन प्रेरित गरेको छ ।
कार्यक्रम संयोजक प्रकाश सुबेदीले विभिन्न क्षेत्रका सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको जानकारी दिँदै यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रमले युवाहरूलाई नयाँ सोच, उत्साह र भविष्यप्रति स्पष्ट दृष्टिकोण दिने महत्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गरेको छ ।