विराटनगर । विराटनगरको पुरानो गुद्री बजार क्षेत्रका फुटपाथमा व्यापार गर्दै आएका खुद्रा तरकारी व्यापारीहरूको व्यवस्थापनका लागि महानगरपालिकाले पहल सुरु गरेको छ । लामो समयदेखि फुटपाथ अतिक्रमण गरी व्यापार गर्दै आएका साना व्यापारीलाई व्यवस्थित गर्न आवश्यक तयारी अघि बढाइएको हो।
महानगरकी उपप्रमुख शिल्पा निरला कार्कीका अनुसार हाल उक्त क्षेत्रमा करिब ४० देखि ५० जना खुद्रा व्यापारी सक्रिय छन् । उनीहरूलाई समेटेर समिति गठन गर्ने तथा व्यापारलाई व्यवस्थित बनाउने योजना बनाइएको छ । उनका अनुसार माछा पसललाई एकातिर र तरकारी पसललाई अर्कोतिर राखेर क्षेत्र व्यवस्थापन गरिनेछ । यस कार्यमा नगर प्रहरी र सरसफाइ टोलीले स्थानीय व्यापारीहरूसँग समन्वय गर्ने कार्कीले जानकारी दिईन् ।

स्थानीय तरकारी व्यापारी दिपक पासवानले व्यापारीहरूलाई समेटेर समिति गठन गरे महानगरलाई व्यवस्थापनमा सहज हुने सुझाव दिएका छन । अर्का व्यापारी जामेल सिद्धीकीले व्यापारीहरूको पहिचान सुनिश्चित गरी आवश्यक आधारमा व्यवस्थापन गर्नुपर्ने बताएका छन् । यसले गर्दा भोलीको दिनमा यहाँको सरसफाईमा समेत ध्यान पुग्ने सिद्धीकीले जानकारी दिए । महानगरपालिकाले स्थानीय व्यापारीहरूसँग छलफल गरी व्यावसायिक भवन निर्माण स्थलको खाली जग्गामा अस्थाई रुपमा राख्ने तयारी गरेको छ । हुन त महाहनगरले यस अघि नै दिर्घकालिनको व्यावस्थापनको लागि विराटनगर ११ स्थित बसपार्क पछाडी नयाँ गुद्रीमा सारेको थियो । ठुला व्यापारीहरू स्थानान्तरण भए भने कतिपय साना व्यापारीहरु भने पुरानै गुद्री बजारको सडक पेटी अतिक्रमण गरेर बस्दै आएका थिए । यसका लागि महानगरले विगत केहीदिनदेखी व्यावस्थानपनमा लागि परिरहेको छ ।