धेरैजसो मानिसहरू, विशेषगरी बालबालिकहरूमा, अचानक कान दुख्ने, ज्वरो आउने वा चिडचिडापन देखिन्छ । यसको प्रमुख कारणमध्ये एक Acute Otitis Media हो, जसलाई मध्यकर्णको संक्रमण भनिन्छ ।
1) यो किन हुन्छ?
हाम्रो कानको बीचको भाग (middle ear) घाँटीसँग सानो नली (Eustachian tube) द्वारा जोडिएको हुन्छ।रुघाखोकी, घाँटी दुख्ने वा एलर्जी हुँदा यो नली बन्द हुन सक्छ। यसले गर्दा कानभित्र तरल पदार्थ जम्मा हुन्छ र पछि संक्रमण हुन्छ।
2) बच्चामा किन बढी देखिन्छ?
● युस्टेशियन नली छोटो र बढी तेर्सो हुन्छ
● बारम्बार रुघाखोकी लाग्ने
● सुताएर बोतलबाट दूध खुवाउने बानी
3) लक्षण के-के हुन्छन्?
● अचानक कान दुख्ने
● ज्वरो आउने
● बच्चाले कान समात्ने वा तान्ने
● सुन्ने शक्ति कम हुनु
● चिडचिडापन, राम्रोसँग नसुत्ने वा नखाने
● कहिलेकाहीँ कानबाट पस बग्ने
4) घरमै के गर्न सकिन्छ?
● टाउको अलि माथि राखेर सुताउने
● दुखाइ र ज्वरोका लागि डाक्टरले सल्लाह दिएको औषधि दिने
● नाक बन्द भएमा सलाइन ड्रप प्रयोग गर्ने
● प्रशस्त तरल पदार्थ पिउन दिने
डाक्टरको सल्लाह बिना आफैं एन्टिबायोटिक प्रयोग नगर्नुहोस्।
5) कहिले डाक्टर देखाउने?
● १–२ दिनभित्र दुखाइ कम नभएमा
● धेरै ज्वरो आएमा
● कानबाट पस बग्न थालेमा
● बच्चा धेरै चिडचिडे वा असामान्य रूपमा शान्त भएमा
● बारम्बार यस्तो समस्या दोहोरिएमा
6) उपचार कसरी हुन्छ?
रोगको गम्भीरता अनुसार उपचार गरिन्छ:
● दुखाइ कम गर्ने औषधि
● आवश्यक परे मात्र एन्टिबायोटिक
● नाक खुलाउने औषधि
● केही अवस्थामा सानो प्रक्रिया गरेर पस निकाल्नुपर्ने हुन सक्छ
7) उपेक्षा गरेमा के हुन सक्छ?
समयमै उपचार नगरेमा:
● सुन्ने शक्ति कम हुन सक्छ
● संक्रमण अन्य भागमा फैलिन सक्छ
● बच्चामा बोली विकासमा असर पर्न सक्छ
8) रोकथाम कसरी गर्ने?
● रुघाखोकीबाट जोगाउने
● स्तनपान गराउने
● सुताएर बोतलबाट दूध नखुवाउने
● धुवाँ (smoking) बाट टाढा राख्ने
● समयमै खोप लगाउने
9) अन्तिम सन्देश
कान दुख्ने समस्या सामान्य जस्तो लागे पनि बेवास्ता गर्नु हुँदैन।
समयमै पहिचान र उपचार गरेमा यो पूर्ण रूपमा निको हुन्छ।
“कान दुखाइलाई बेवास्ता नगर्नुहोस्, समयमै उपचारले सुन्ने शक्ति जोगाउँछ।”
नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सुशील राज श्रेष्ठ बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको नाक, कान तथा घाँटी (ENT) रोग विभागमा कार्यरत हुनुहुन्छ ।