अरूजस्तै आफ्नो सपना बोकेर ब्याचलरको पढाइ गर्न म विराटनगर छिरेको पनि धेरै भएको छैन। सानैदेखि अलि भिन्न स्वभावकी म, समाजका सबै नियमहरू चुपचाप मान्नुपर्छ भन्ने कहिल्यै सोचिनँ र कसैले के भन्लान् भन्ने पनि खासै लाग्दैनथ्यो। तर, यथार्थ अलि फरक हुँदो रहेछ।
केही समयअघिदेखि आफ्नै रहरले मैले मेरो कपाल छोटो बनाएँ—ठ्याक्कै केटाको जस्तो। पढाइसँगसँगै आफ्नो खाली समय व्यतीत गर्न म सञ्चार माध्यममा काम पनि गर्ने गर्छु।
दुई हप्ताजति अघिको कुरा हो। सधैँझैँ एक दिन म काममा जाँदै थिएँ। तर, त्यो दिन अलि फरक थियो। सधैँ केटाको जस्तो पहिरनमा बाहिर निस्किने म, त्यो दिन केटीले लगाउने जस्तो कपडामा थिएँ; भिन्नता प्रस्टै देखिन्थ्यो।
जब म बाटोमा निस्किएँ, म सबैको आँखा ममाथि महसुस गर्न सक्थेँ। त्यो दिन बाटोमा हिँडिरहेका ती मान्छेहरूका नजर केही गहकिला र अप्ठ्यारा थिए। मलाई म निर्वस्त्र हिँडिरहेकी छु जस्तो महसुस हुन थालिसकेको थियो।
तैपनि, 'केही समय त हो' भन्ने सोच्दै आफ्नो पाइला अगाडि बढाइरहेकी थिएँ। ती व्यक्तिहरू मलाई यसरी हेर्दै थिए, मानौँ मैले कुनै माफी नै दिन नमिल्ने किसिमको जघन्य अपराध गरेकी छु।
त्यत्तिकैमा केही मेरो समान उमेर समूहका विद्यार्थीहरू मेरो छेउबाट घरतर्फ जाँदै थिए। उनीहरू मलाई हेर्दै हाँस्दै थिए। जब उनीहरू मेरो नजिक आइपुगे, उनीहरूमध्ये एकले भन्यो, “हेर न, आजकल यी छक्काहरू खुलेआम बाटोमा घुम्छन्।” यो वाक्य मैले प्रस्ट सुनेँ, तर केही बोल्न सकिनँ। सधैँ आफूलाई सहजै बचाउ गर्ने म, आज निःशब्द थिएँ।
हुन त अरू बेला पनि “तिमी केटा होइनौ?”, “केटा जस्तो लाग्यो”, “भाइ उता सर त” जस्ता वाक्य नसुनेको होइन। मलाई खासै प्रभाव पनि पर्दैनथ्यो। भ्रम हुनु स्वाभाविक नै हो।
म लैङ्गिक र यौनिक दुवै रूपमा महिला नै हुँदा पनि एक दिनका लागि यस्तो व्यवहार असहनीय भइरहेको थियो। तर, लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूले हरेक दिन समाजको यस्तो गलत दृष्टिको सामना गरिरहेका हुन्छन्।
साच्चै नै, यो समाजमा बस्ने व्यक्तिहरूले आफूअनुरूप बनाएको नियमविपरीत सोच भएका र लैङ्गिकता अलग भएका मानिसहरूलाई शिर उठाएर जिउन निकै नै कठिन रहेको महसुस भयो।
सधैँ 'अरूको कुराले फरक पर्नु हुँदैन' भन्ने सोच राख्ने मान्छे म, आफैँ 'अब कपाल लामो पाल्छु' भन्ने सोच्न थालिसकेकी थिएँ। साँच्चै नै यस्ता घटनाको गहिरो प्रभाव पर्दो रहेछ।
मेरा लागि यो एउटा घटना मात्र नभएर समाजलाई नजिकबाट र अरूको नजरबाट नियाल्ने मौकाको रूपमा परिणत भयो। त्यस दिनपश्चात् समाजलाई मैले हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ।