विराटनगर । विराटनगरस्थित ग्रीनल्याण्ड कलेजले ““व्यावहारिक सीप विकास तथा प्रयोगात्मक तालिम”” शीर्षकमा ५ दिने कार्यशाला सम्पन्न गरेको छ। वैशाख १२ देखि १६ गतेसम्म सञ्चालन भएको कार्यक्रममा “एक विद्यार्थी–एक सीप” अवधारणा अनुसार प्लस टु तहका विद्यार्थीहरूलाई विभिन्न प्रयोगात्मक तालिम दिइएको कलेजले जनाएको छ।
कार्यक्रममा कृषि, वातावरण तथा इन्टरनेट अफ थिङ्स सम्बन्धी १०, वनस्पति सीपका ३ र एलईडी बल्बसम्बन्धी १ गरी विभिन्न परियोजना सञ्चालन गरिएका थिए। विद्यार्थीहरूले ग्यास लिकेज डिटेक्सन, स्मार्ट होम, स्मार्ट स्ट्रीट लाइट, मौसम स्टेशन, बाढी सचेतना प्रणाली लगायत प्रविधिमा आधारित परियोजना तयार गरेका थिए।
त्यसैगरी, बिरुवाको रुटिङ, ग्राफ्टिङ, बोन्साइ निर्माण र एलईडी बल्ब बनाउने सीपसम्बन्धी तालिम पनि प्रदान गरिएको थियो। नेपाल र भारतका १० प्रशिक्षक सहभागी रहेको उक्त कार्यक्रममा ३६० विद्यार्थीले प्रशिक्षण लिएको कलेजले जनाएको छ।
कलेजका प्रिन्सिपल दिनेश दाहालले अहिलेको समयमा किताबी ज्ञानसँगै सीप आवश्यक भएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीमा सिर्जनशीलता र उद्यमशीलता विकास गर्ने विश्वास व्यक्त गरे। कलेजले ‘सीप तथा अनुसन्धान विभाग’ स्थापना गरी यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।