विराटनगर । किरात राई समुदायले आफ्नो मौलिक धार्मिक तथा सांस्कृतिक पर्व उभौली शुक्रबार विराटनगरमा भव्य रूपमा मनाएका छन् । प्रकृति पूजा, भूमि पूजा, साकेला सिली नाच तथा सामूहिक सहभागितासहित पर्व उल्लासमय वातावरणमा सम्पन्न भएको हो ।

उभौली–उधौली पर्व किरात राई समुदायले वर्षमा दुई पटक मनाउने परम्परा रहेको छ । विशेषगरी हिउँद र गर्मी याम सुरु हुनुअघि मनाइने यस पर्वमा प्रकृतिप्रति आस्था प्रकट गर्दै वर्षभरि राम्रो बाली उत्पादन होस् भन्ने कामनासहित पूजा–अर्चना गर्ने गरिन्छ ।

यसै अवसरमा किरात राई यायोक्खा महानगर समितिको आयोजनामा विराटनगर–११ स्थित साकेला थानमा सयौंको संख्यामा समुदायका सदस्यहरू भेला भएका थिए । परम्परागत सांस्कृतिक पोशाकमा सजिएका सहभागीहरूले ढोल, झ्याम्टा र चौरीको पुछर समातेर गोलो घेरामा उभिँदै साकेला सिली नृत्य प्रस्तुत गरेका थिए । नृत्यमा खेत जोत्नेदेखि अन्न बोक्ने जस्ता कृषि गतिविधिको झल्को दिने अभिनयसमेत देखाइएको थियो ।

किरात धर्मशास्त्र ‘मुन्धुम’ अनुसार प्राचीनकालदेखि चलिआएको साकेला सिली नाचले मानव र प्रकृतिबीचको अन्तरसम्बन्धलाई उजागर गर्ने विश्वास गरिन्छ । आजदेखि सुरु भएको उभौली पर्व १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने परम्परा रहेको छ ।

किरात राई यायोक्खा महानगरकी अध्यक्ष विष्णु राईले विगत वर्षहरूझैँ यस वर्ष पनि बैसाखे पूर्णिमाको अवसरमा साकेला थानमा पूजा–अर्चना गरी पर्व मनाइएको बताइन् । उनले उभौली पर्वले समुदायलाई एकताबद्ध बनाउँदै आफ्नो भाषा, संस्कार र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिन् ।
“उभौली पर्व हाम्रो पहिचान, संस्कृति र प्रकृतिप्रतिको सम्मानको प्रतीक हो । यसले नयाँ पुस्तालाई आफ्नो मौलिक परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेलेको छ,” अध्यक्ष राईले भनिन् ।

कार्यक्रममा विराटनगरका विभिन्न जातीय संस्थाका प्रतिनिधि, किरात धर्मावलम्बीका अगुवा, युवा पुस्ता तथा अन्य समुदायका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
