विराटनगर । विराटनगर मा आगामी वैशाख २१ गते आयोजना हुन लागेको ‘वुमन लिडरसिप समिट’ ले स्थानीय उद्यमशीलता, कृषि र नवप्रवर्तनलाई महिला नेतृत्वसँग जोड्दै कोशी प्रदेशको अर्थतन्त्रमा नयाँ बहस सुरु गर्ने संकेत दिएको छ। नेपाल उद्योग परिसंघ द्वारा आयोजना हुने यस सम्मेलनलाई केवल औपचारिक कार्यक्रम नभई प्रदेशको आर्थिक संरचनालाई पुनः परिभाषित गर्ने अवसरका रूपमा हेरिएको छ। आयोजकका अनुसार कार्यक्रममा विशेष अतिथिका रूपमा सविना काफ्ले सहभागी हुने जनाइएको छ, जो वैशाख २१ गते कार्यक्रममा उपस्थित रहने बताइएको छ।
बिहीबार विराटनगरमै आयोजित पत्रकार सम्मेलनमा आयोजकहरूले समिटको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। यस पटकको सम्मेलनको मुख्य विषय “स्थानीय अवसर र महिला नेतृत्व” रहने स्पष्ट पारिएको छ। समिटकी संयोजक गिरिजा सारडाका अनुसार सम्मेलनले कोशी प्रदेशका महिलालाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम संरचना तयार गरिएको छ। उनले स्थानीय स्रोत–साधन, सीप र सिर्जनशीलतालाई बजारसँग जोड्न नसक्दा महिलाहरूको क्षमता पूर्ण रूपमा उपयोग हुन नसकेको उल्लेख गर्दै यो समिटले त्यही खाडल पूर्ति गर्ने बताइन्।
‘महिलालाई उद्यमशीलतामा प्रेरित गर्नु मात्र होइन, उनीहरूको उत्पादन र सीपलाई बजारसँग जोड्ने वातावरण सिर्जना गर्नु पनि हाम्रो लक्ष्य हो,’ उनले भनिन्। कार्यक्रमको उद्घाटन हिक्मतकुमार कार्की ले गर्ने तय भएको छ। सम्मेलनमा उद्योग, बैंकिङ, कृषि, प्रविधि तथा नीतिगत क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ, जसले बहुआयामिक छलफलको वातावरण तयार गर्ने अपेक्षा गरिएको छ।