विराटनगर । सार्वजानिक, ऐलानी र पर्तिजग्गामा व्यक्तिले अनाधिकृत संरचना बनाएको भन्दै संघीय सरकारले पछिल्ला दिनमा तोडताड गर्दै आएको छ । यसको प्रशंसा र आलोचना दुवै भइरहेको छ । सार्वजानिक, ऐलानी र पर्तिजग्गामा बस्नेहरु सुकुम्वासी भएकोले उनीहरुलाई पहिला व्यवस्थापन गर्नुपर्ने माग छ । त्यति नै उनीहरुको नाममा जग्गा हुनेहरुले ब्रम्हलुट मच्चाएको र पुराना दलहरुले राजनीति गरिरहेको तर्क सुनिन्छ ।
सरकारले देशभर सरकारी रुपमा जसको स्वामित्व उसैको जग्गा हुनुपर्ने अभियान चलाईरहँदा कोशी अस्पताल विराटनगरले पनि न्याय पाउने आसा गर्न थालिएको छ । कोशी अस्पताल विरा्टनगरको जमिन विभिन्न संस्थाले हडपेर संरचना बनाएका छन् । अस्पतालको जग्गामा संरचना बनाएरु भाडा लगाउने र मासिक लाखौं रकम असुली गरिरहेका छन् । अस्पतालको जग्गा गणेश मन्दिर, नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयले ओगटेर पक्की संरचना बनाएका छन् ।
क्षयरोग संस्थाले ६ कट्ठा ८ धुर, गणेश मन्दिरले २ कट्ठा, देवकोटा पुस्तकालयले २ कट्ठा १० धुर, रेडक्रस सोसाइटीले २ कट्ठाभन्दा बढी जग्गा ओगट्दै आएको छ ।
अस्पतालको जग्गामा ती संस्थाले पक्की भवन बनाएर ३० जनाभन्दा बढीलाई भाडामा दिएको छ। अस्पतालको जग्गामा संरचना बनाएर भाडा बापत मात्रै क्षयरोगले मासिक २ लाख रुपैयाँभन्दा बढी उठाउँदै आएको छ । अस्पताल विकास समितिका पूर्व सदस्य मुकेश बुढाथोकीका अनुसार गणेश मन्दिरले भाडाबापत मासिक १ लाख ६० हजार रुपैयाँभन्दा बढी असुली गरिरहेको छ। रेडक्रसले संरचना बनाएर वाणिज्य बैङ्कदेखि विभिन्न पसललाई भाडामा लगाउँदै करिब १ लाख ५० हजार आम्दानी गर्ने गरेको छ। देवकोटा पुस्तकालयले विभिन्न पसललाई कोठा भाडामा दिएको छ।
भाडामा दिएको मात्रै हैन, भाडामा समेत भ्रष्टचार भएको आरोप समेत लाग्दै आएको छ । अस्पताल चौकमा भाडामा सटर पाउनै मुस्किल पर्छ । तर, यी संस्थाले देखाउने एउटा र लिने भाडा अर्कै गरेर भ्रष्टचार गरेको आरोप समेत लाग्ने गरेको छ । यस अगाडी अस्पतालको इमरजेन्सी, आईसीयू र ट्रमा सेन्टर निर्माणको बेला उक्त जमिन खोजिएको थियो । अस्पतालले आफ्नो जमिन खोजी गर्ने क्रममा तीनवटा संस्थाले भोगचलन गरिरहेको पाइएपछि हट्न आग्रह गरेको थियो । २०७६ यता कोशी अस्पतालले उक्त जमिन फिर्ता दिन भनिरहेको छ । तर, यी संस्था पहुँचको दवाव देखाएर अस्पताल प्रशासनलाई नै थर्काउँदै आएका छन् । अस्पताल विकास समितिका पूर्व सदस्य बुढाथोकीका अनुसार २०८० सालमा जग्गा खाली गराउने अन्तिम तयारीमा जुटिरहेका बेला त्यसलाई असफल बनाइयो ।
हुन चाँहि क्षयरोगले २०१६ सालमा बनाएको भवनमा कार्यालयसहित अन्य केहि व्यवसायिक प्रयोजनका लागि भाडामा लगाएको छ । रेडक्रसले भने भवन बनाएर वाणिज्य ब्यांकलाई भाडामा दिएको छ । अस्पतालले बारम्बार आफ्नो जमिन मागिरहेको भएपनि अहिलेसम्म पाउन सकेको छैन । अस्पतालको नाममा रहेको ५ बिघा ८ कट्ठा जमिन भित्रै यी संस्थाहरू रहेका छन् ।
कोशी अस्पताल विराटनगर अस्पतालि विकास समिति अध्यक्ष फरवार्ड सिलवाल अस्पतालको जग्गा अन्य संस्थाले उपभोग गरिरहेको भएपनि क्षयरोगका लागि स्थानीय सरकारले जग्गा व्यवस्थापन गर्नुपर्ने अदालतको आदेश रहेको छ । त्यस अनुसार जग्गा व्यवस्थापन भएको छैन । पछिल्लो नयाँ सरकार बनेपछि अस्पतालको जग्गाको लगत कुनैपनि निकायले मागेको जानकारी आफूसँग नभएको उनले बताए ।