सोनु साह
विराटनगर । यातायात कार्यालय विराटनगरले बैशाख ३ गतेपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रक्रियामा गएका सेवाग्राहीलाई १५ दिनभित्रमा सेवा प्रदान गर्ने भएको छ । लाइसेन्स छपाईपछि आइपुग्नेसम्मको समय तालिका समायोजन गर्दा पन्ध्रदिन लाग्ने अनुमान गरेर सेवाग्राहीलाई सेवा प्रदान गर्न थालिएको हो ।
संघीय सरकारले लाइसेन्स एक दिनमै प्रिन्ट हुने अनि सेवाग्राहीले पाउने बताउँदै आएको छ । यो निर्णयको सर्वसाधारणले प्रशंसा गरेका छन् । यद्यपी व्यवहारमा भने कार्यन्वयनमा ल्याउन अहिले पनि समस्या परिरहेको छ । विशेषगरी यातायात व्यवस्था कार्यालय विराटनगरमा सेवाग्राहीले समयमै लाइसेन्स नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
यस विषयमा कार्यालय प्रमुख गोपाल दाहालले गत वर्ष २०८२ साल चैत महिनासम्मका पुराना विवरणका कारण ढिलाइ भएको बताएका छन् । तर, नयाँ वर्ष २०८३ वैशाख ३ गतेपछि आवेदन दिइएका लाइसेन्स भने २ दिनभित्रै प्रिन्ट भइरहेका छन् । त्यहाँ प्रिन्ट भएका लाइसेन्स जिल्ला अनुसार मिलाउने अनि पठाउने कार्यमा भने समय लाग्ने गरेको छ । त्यहि भएर सेवाग्राहीको हातसम्म पुग्ने समय समेत उपलब्ध गराउँदा १५ दिन लाग्ने दाहालको भनाई छ ।
साथै, पुराना लाइसेन्स कार्डको प्रिन्टका लागि पहल भइरहेको र यस सम्बन्धमा सम्बन्धित निकायसँग पत्राचार समेत भइसकेको उनले जानकारी दिए । पुराना कार्ड पनि छिट्टै प्रिन्ट भएर वितरणमा आउने दाहालको दाबी छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरेको छ । अब नयाँ लाइसेन्स एक दिनभित्रै प्रिन्ट हुने गरी काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।