सोनु साह
विराटनगर । देशव्यापी रूपमा फुटपाथ अतिक्रमण हटाउने अभियान तीव्र बन्दै गएको अवस्थामा विराटनगर महानगरपालिकाले पनि शहरको सौन्दर्यकरण र सर्वसाधारणको सहज आवतजावत सुनिश्चित गर्ने उद्देश्यले फुटपाथ खाली गराउने अभियानलाई तीव्र बनाएको छ।
महानगरपालिकाले वैशाख ११ गतेदेखि उक्त अभियानलाई सक्रिय रूपमा अघि बढाएको हो। लामो समयदेखि विराटनगरका विभिन्न बजार क्षेत्रहरूमा फुटपाथ अतिक्रमण हुँदै आएको थियो, जसका कारण पैदल यात्रुहरूलाई दैनिक रूपमा आवतजावत गर्न कठिनाइ भइरहेको थियो।
सर्वसाधारणबाट बारम्बार गुनासो आएपछि महानगरपालिकाले पहिलो चरणमा मुख्य बजार क्षेत्रका फुटपाथ खाली गराउने काम सुरु गरेको हो। यस क्रममा महानगर कार्यालय क्षेत्रदेखि संसारी माईस्थान, रोडशेष रोड, घोघा चोकदेखि अस्पताल रोड तथा गुद्री बजारलगायतका स्थानमा फुटपाथ खाली गराइएको छ।
यद्यपि, हालसम्म कुनै पनि व्यापारीलाई कारबाही गरिएको छैन। महानगरका नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार अहिलेसम्म सबैलाई सम्झाइ–बुझाइमार्फत फुटपाथ खाली गराइएको हो। “अहिलेसम्म अतिक्रमणको अवस्था नदेखिएकाले कारबाही गर्नुपरेको छैन,” उनले भने, “हाल सबै फुटपाथ सफा र व्यवस्थित अवस्थामा छन्।”
पौडेलले यदि पुनः अतिक्रमण भएको पाइएमा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। उनका अनुसार नगर प्रहरीको टोली नियमित रूपमा फिल्डमा खटिएर अनुगमन गरिरहेको छ। महानगरपालिकाले बाँकी स्थानहरूमा पनि क्रमशः निर्णय अनुसार अभियान विस्तार गर्दै जाने जनाएको छ।