विराटनगर । विराटनगरको दक्षिणवर्ती क्षेत्रमा व्यक्तिको जग्गा हत्याउन एउटा समूहले मालपोतसँग सेटिङ गरेरै सर्वसाधारणलाई दुःख दिने गरेको खुलेको छ । विराटनगर–१४ छाला फ्याक्ट्रीको जग्गामा खेलोमेलो गर्ने समूहले विराटनगर–१७ मा समेत उस्तै प्रकृतिको काम गरेको फेला परेको हो । विराटनगर–१४ स्थित छाला फ्याक्ट्री जग्गामा फसेका सर्वसाधारणलाई दवाव दिएको आरोप लागेका कुतबुद्दिन, अस्लम आलम, फैयाज रैयान, जैद अली, अनवर हुसैनले विराटनगर–१७ स्थित अर्को जग्गामा पारिवारिक विवाद सिर्जना गरेर हत्याउने योजना बुनेको खुलेको हो ।
जहदा गाउँपालिका स्वर्गिय अयोधी यादव र उनका छोराहरु रामनारायण र सत्यनारायण यादवको निधन भएपछि उनीहरु रानीको जग्गा समेत बाँडफाँड गरेका थिए । यादवहरुको पारिवारिक सम्पतिमा खिचलो थियो । जसमा अंशीयार सत्यनारायणकी श्रीमती निर्मला देवी र उनका छोराहरु राहुल र रिसुलाई उछालेर रामनारायणका छोरा बजरंगीले पाउने अंश हकमा पहिल्यैदेखि अवरोध गर्ने समूहहरुले नै उठिबास लगाउने गरी योजना बुन्दै आएको खुलेको छ । त्यहि परिवारको जग्गा विराटनगर–१७ रानीमा पाँच कठ्ठा थियो । साविक विराटनगर २२ (हाल विराटनगर १७) को ७ नम्बर कित्तामा पाँच कठ्ठा थियो । यो टुक्रिएर ३०७ र ३११ कित्तामा २÷२ कठ्ठा जग्गा भाग लाग्यो ।
अयोधी यादव र उनका छोराहरु रामनारायण र सत्यनारायणको निधन भएपछि २०७५ सालमा अदालतबाट जग्गा बाँडफाँड भएको थियो । जसका आधारमा रामनारायणका छोरा बजरंगीले दुई कठ्ठा र सत्यनारायणतर्फ निर्मलाले दुई कठ्ठा पाएकी थिइन् । अदालतको आदेश अनुसार अयोधीकी श्रीमती बुधियादेवीको नाममा एक कठठा जीउनी राखिएको थियो । जसमध्ये निर्मलाको अंशमा परेको दुई कठ्ठा यिनै कुतबुद्दिनले उनकी श्रीमतीको नाममा पास गराएका थिए । बुधियादेवीको नाममा रहेको जग्गा भने उनको शेषपछि आधाआधा हुने मातपोतको मोठमा शर्त उल्लेख गरेर राखिएको थियो । जसमा निर्मला र बजरंगी अंशियार हुन्थे । तर, निर्मलासँग सेटिङ गरेर बुधियादेवीको जग्गा समेत कुतबुद्दिनले पास गराइसकेका थिए ।
अंशीयारमध्ये बजरंगीको पनि निधन भयो । त्यसपछि बजरंगीकी श्रीमती सुस्मा यादवमा जग्गाको हकाधिकार प्राप्तभयो । त्यसबेला खुल्यो की बुधियादेवीको नाममा रहेको जीउनी जग्गा समेत कुतबुद्दिनहरुको समूहले भित्रभित्रै पास गराईसकेको थियो । समग्र पाँच कठ्ठामै संयुक्त घर रहेको जग्गा बाँडफाँड हुँदा निर्मला र बुधियादेवीले जग्गा मात्रै पाएका थिए भने बजरंगीको भागमा घर समेत परेको थियो ।
रानी क्षेत्रमा जग्गा खिचलो झिकेर सर्वसाधारणलाई दुःख दिने गरेको आरोप लाग्दै आएका कुतबुद्दिन समूहले नै बुधियादेवीको जग्गामा अहिले दावी गर्दै सुस्मालाई दैनिक दवाव दिदैं आएको छ । विराटनगर–१७ का वडा अध्यक्ष समिर कमरमार्फत उनीहरुले कागजात मिलाउने गरेका छन् । यो जग्गाको समेत किनबेच हुँदा चार किल्ला प्रमाणीत गरिएको देखिन्छ । जसमा घर देखाइएको थिएन । तर, अहिले कुतबुद्दिनले उक्त जग्गामा सुस्मा यादव (रामनारायणका छोरा बजरंगीकी श्रीमती)ले घर बनाएको भनेर दावी गर्दै उनलाई समेत हट्न दवाव दिने गरेको गुनासो छ । यो जग्गाको किनबेच हुनु अगावै बनेको घर अंशबन्डा हुँदा निर्मला र बुधियादेवीको भागमा नभई बजरंगीको भागमा उल्लेख गरिएको छ ।
यतिसम्मकी साविक विराटनगर २२ (हाल विराटनगर १७) को ७ नम्बर कित्ता टुक्रिएर ३०७ र ३११ कित्तामा २÷२ कठ्ठा जग्गा भाग लाग्यो । बुधियादेवीको नाममा रहेको बाँकी जग्गाको हकमा मातपोतको मोठमा उनको शेषपछि भाग लाग्ने भनिएको थियो । तर, अहिले सुस्माले मातपोतको मोठमा उक्त जग्गाको विवरण हेर्न खोज्दा सहज नभएको गुनासो गर्छिन् । २०७६ सालमा कुतबुद्दिनले निर्मला नामको दुई कठ्ठा र बुधियादेवीको एक कठ्ठा जग्गा समेत आप्mनी श्रीमती नाजनी तपस्वीको नाममा पास गराइसकेको खुलेको छ । जुन जग्गाको अंशियार सुस्मा समेत हुन तर उनलाई यसबारेमा थाहै भएन । त्यसपछि उनले लिखत बदर गराई आफ्नो भागमा पर्ने जग्गाको दिलाईदिन माग गर्दै अदालत पुगेको सुनाइन् ।
अहिले यिनै समूहले विराटनगर–१४ छाला फ्याक्ट्रीका स्थानीयलाई दवाव दिदै आफैंले खरिद गरेर पास गराएको जग्गा पुनः खरिद गर्न दवाव दिने गरेका छन् । यस विषयमा कुतबुद्दिनसँग कुरा गर्दा उनले सहजै आफ्नो जग्गामा घर बनाएर हडपेको आरोप लगाएका छन् । जबकी यादव परिवारको जग्गा हडप्न कुतबुद्दिन, उनका दाजु अनवर हुसैन लगायतले मालपोतसँग सेटिङ गरेको कुरा विस्तारै बाहिर आइरहेको छ । मालपोत मोरङमा उनीहरु जोडिएको जग्गाको विवरण माग्न जाँदा कर्मचारीले सहयोग नगर्ने गरेको गुनासो धेरैको छ ।