विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध युवा तथा खेलकुद मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउने निर्णयसँगै क्यानभित्रको विवाद उत्कर्षमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेका लेखा तथा श्रेस्ता सम्बन्धी विवरण र कागजात उपलब्ध नगराएको भन्दै मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आवश्यक कारबाही सुरु गर्न निर्देशन दिएको छ ।
पटक–पटकको पत्राचारलाई अटेर गरेको र विवरण बुझाउन अस्वीकार गरेको आरोपमा मन्त्रालयले क्यानलाई अन्तिम चेतावनीसहित स्पष्टीकरण सोध्न भनेको छ । राष्ट्रिय खेलकुद विकास ऐनअनुसार प्रक्रिया अघि बढाइएको र चित्तबुझ्दो जवाफ नआए क्यानलाई निलम्बनसम्म गर्न सकिने चेतावनी मन्त्रालयले दिएको छ ।
यसैबीच, विराटनगरमा आयोजित क्यानको वार्षिक साधारण सभामा आईपुगेका क्यान सचिव पारस खड्काले क्यान र नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाब–किताबलाई लिएर नियोजित मिडियाबाजी गरिएको दाबी गरेका छन् ।

उनले कसैलाई संस्थाको काम मन नपर्ने बित्तिकै अख्तियारमा बेनामी उजुरी गर्ने र भ्रम फैलाउने प्रवृत्ति हाबी भएको टिप्पणी गरे । हिसाब–किताब चाहने सदस्यहरूलाई कार्यालयमै आएर कागजात हेर्न आह्वान गरिएको तर संस्थाका गोप्य डकुमेन्टहरू इमेलमार्फत जथाभावी पठाउने प्रावधान नरहेको उनले स्पष्ट पारे ।
खड्काले क्यानले सबै आवश्यक कागजात सम्बन्धित निकायमा बुझाइसकेको र यसमा आत्तिनुपर्ने कुनै कारण नरहेको बताए । क्यानभित्र कुनै राजनीतिक हस्तक्षेप नरहेको र संस्था एकढिक्का भएर अगाडि बढिरहेको दाबी गर्दै उनले एनपीएलले नेपाली क्रिकेटमा ल्याएको व्यावसायिकतालाई सबैले कदर गर्नुपर्नेमा जोड दिए ।
पूर्वाधार र खेलको भविष्यबारे सचिव खड्काले तल्लो मूलपानी मैदानलाई क्यानको स्वामित्वमा ल्याउन पहल भइरहेको र विराटनगरको बैजनाथपुर मैदान विकासका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको जानकारी दिए ।