विराटनगर । सम्मानित मोरङ जिल्ला अदालतबाट विभिन्न मितिमा भएको फैसला तथा आदेशअनुसार कैद र जरिवाना ठहर भई फरार रहेका १४ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको विशेष प्रहरी टोलीले फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि मोरङ जिल्ला अदालतमा बुझाएको जनाएको छ । पक्राउ पर्नेहरूमा बिना इजाजत वन पैदावर ओसारपसार, सवारी ज्यान, लागूऔषध, चेक अनादर, अभद्र व्यवहार, चोरी तथा सवारी ज्यान अंगभंग लगायतका मुद्दामा दोषी ठहर भएका व्यक्तिहरू रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये केहीलाई कैद सजाय र केहीलाई जरिवाना सजाय तोकिएको थियो । पक्राउ पर्नेहरू अधिकांश मोरङको लेटाङ नगरपालिका क्षेत्रका रहेका छन् भने एक जना सुनसरीको इटहरी उपमहानगरपालिकाका रहेका छन् । प्रहरीले फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियान आगामी दिनमा पनि निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गरिने जनाएको छ ।