सोनु साह
विराटनगर । विराटनगर महानगरपालिका–६ स्थित अमानगर टोलदेखि झरना चौकसम्मको नाला लामो समयदेखि सफा नभएको कारण फोहोर पानी सडकमा बग्न थालेपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।
स्थानीयका अनुसार नालामा फोहोर जमेर पानी निकास हुन नसक्दा सडक नै हिलाम्मे र दुर्गन्धित बनेको छ । स्थानीय सरभरोज खानले पटक–पटक वडा अध्यक्ष तथा महानगरको सरसफाइ शाखामा जानकारी गराउँदा समेत कुनै चासो नदिइएको गुनासो गरे ।
उनका अनुसार विगत ६ महिनादेखि समस्या यथावत रहेको छ । नालाको पानी लामो समयदेखि जमेर बसेकाले दुर्गन्ध फैलिएको र लामखुट्टेको समेत अत्यधिक समस्या बढेको उनले बताए । त्यसका कारण स्थानीय बिरामी पर्ने अवस्था समेत सिर्जना भएको उनको भनाइ छ ।
यता वडा अध्यक्ष हरिशचन्द्र सहनीले भने समस्या बारे आफूलाई जानकारी भएको बताएका छन् । बजेट अभावका कारण निर्माण तथा व्यवस्थापन कार्यलाई तीव्रता दिन नसकिएको उल्लेख गर्दै उनले वडामा सरसफाइ अभियानलाई निरन्तरता दिइएको बताए ।
उनले केही स्थानमा सरसफाइ गर्न बाँकी रहेकाले यसै हप्ताभित्र नाला सफा गर्ने काम सुरु गरिने जानकारी दिए ।