सोनु साह
विराटनगर । मोरङ जिल्ला सुरक्षा समितिले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै सीमावर्ती नाकाहरूमा विशेष निगरानी थालेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको नेतृत्वमा विराटनगरस्थित रानी नाकामा स्थलगत अनुगमन गरिएको हो । सीमा क्षेत्रमा सुरक्षा जाँच कडा पारिएपछि नेपाल प्रवेश गर्ने नागरिकलाई नागरिकता वा अन्य आधिकारिक परिचयपत्र देखाउन अनिवार्य गरिएको छ । विशेषगरी विराटनगरको रानी नाकासहित मोरङका अन्य सीमा नाकाहरूमा सुरक्षाकर्मीहरूले चेकजाँचलाई तीव्र बनाएका छन् ।


जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार भारतबाट रेलमार्फत एकैपटक ठूलो संख्यामा मानिस नेपाल प्रवेश गर्ने भएकाले सम्भावित शंकास्पद व्यक्तिहरू आउन सक्ने अवस्थालाई ध्यानमा राखेर निगरानी बढाइएको हो ।
उनले सीमा क्षेत्रमा हुने घुसपैठ, आपराधिक गतिविधि तथा लागूऔषध कारोबार नियन्त्रणका लागि विशेष सुरक्षा रणनीति लागू गरिएको बताए । पछिल्लो समय लागूऔषध प्रयोगकर्ताहरू भारततर्फ गएर सेवन गरी पुनः नेपाल फर्किने गतिविधि बढेकाले त्यसलाई नियन्त्रण गर्न सुरक्षा जाँच थप कडा पारिएको प्रशासनको भनाइ छ ।


यद्यपि, सुरक्षा कडाइको अर्को कारण भारतको पश्चिम बंगाल क्षेत्रमा विकसित राजनीतिक अवस्थासँग पनि जोडिएको बताइएको छ । त्यहाँ गैरकानुनी रूपमा बसोबास गर्दै आएका रोहिंग्या मुस्लिमहरू नेपाल प्रवेश गर्न सक्ने आशंकाका आधारमा स्थानीय प्रशासनले सीमा क्षेत्रमा निगरानी बढाएको स्रोतको दाबी छ । यस विषयमा भने परराष्ट्र मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन ।
त्यसैगरी, विभिन्न आन्दोलनका क्रममा फरार रहेका बन्दी–कैदीहरू भारतबाट नेपाल प्रवेश गर्न सक्ने आशंकाका कारण पनि जोगबनी नाकामा विशेष कडाइ गरिएको एक सुरक्षाकर्मीले जानकारी दिए ।



प्रहरी प्रशासनका अनुसार सीमा क्षेत्रमा गरिएको कडाइले गैरकानुनी गतिविधि, घुसपैठ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवाललगायत सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।