विराटनगरमा ठूला अस्पताल अगाडी फार्मेसी खोलेर बिचौलिया बन्छन् सञ्चालक

<span class='c1'>विराटनगरमा ठूला अस्पताल अगाडी फार्मेसी</span> <span class='c2'>खोलेर बिचौलिया बन्छन् सञ्चालक</span>

विराटनगर । विराटनगरका ठूला अस्पताल परिसरमा खुलेका फार्मेसीले औषधीको कारोबार भन्दा पनि बिचौलिया बनेर सेवाग्राहीलाई दुःख दिने गरेका छन् । यसरी फार्मेसीले दुःख दिदाँ अस्पताल प्रशासन सेवाग्राहीमुखी भन्दा पनि बिचौलियाको लागि सहजकर्ता बन्नुपर्ने बाध्यतामा देखिन्छन् ।

फार्मेसी सञ्चालकले कसरी औषधीमा लुट मच्चाएका छन् भन्ने कुरा यस अगाडी नोबेल मेडिकल कलेज भित्रको एउटा केसले देखाइसकेको छ । नोबेल प्रशासन आफैंले अनुसन्धान गर्दा ड्रग स्लिपमा संख्या बढाउने गरेको पाइएको थियो । अस्पतालमा भर्ना भएका बिरामीलाई चिकित्सकले सिफारिस गरेको औषधी वार्डबाट नर्सले ड्रग स्लिपमा लेखेर सेवाग्राहीमार्फत झिकाउँदा फार्मेसी सञ्चालकले २ वटा चाहिनेलाई १२ बनाउने गरेको पाइएको थियो ।

तर, फार्मेसी सञ्चालकको लुटामारी भने अहिले पनि रोकिएको छैन । विभिन्न जुक्ति लगाएर उनीहरुले सेवाग्राही ठगी गर्ने काम बारम्बार गर्दा अस्पताल प्रशासन सहजकर्ता बन्ने गरेको पाइन्छ । पछिल्लो समय विराट नर्सिङ होममा भर्ना भएका एक बिरामीको हकमा फार्मेसीले गरेको कार्टेलिङ्गको विषय सार्वजानिक भएको छ ।
विराट नर्सिङ्ग होममा उपचार गराउन आउने सेवाग्राहीले औषधी खरिद गर्दा कार्टेलिङ्गको शिकार हुनुपर्ने गरेको हो । अस्पताल परिसरकै फार्मेसीमा औषधी खरिद गर्नु सेवाग्राहीका लागि बढी लाभदायक हुने भएपनि सबै केसमा त्यो असंभव हुने गरेको देखिएको छ । औषधीको गुणस्तर, त्यसको मूल्य आधिकारिकता र कुनै अवस्थामा सेवाग्राहीले गर्नसक्ने दावीमा समेत सहज हुने भएपनि सबै सेवाग्राहीका लागि त्यो कुरा कार्यन्वयन सहज नहुने अस्पताल प्रशासन बताउँछ ।

विराट नर्सिङ होम बाहिरका कतिपय मेडिकल पसलमा एक लाख समेत लगानी छैन । डाक्टरले सिफारिस गरिदिएको औषधी उपलब्ध गराउनसक्ने क्षमता पनि छैन । तर, त्यस्ता मेडिकल पसलले बिरामीको जिम्मा लिएर अस्पतालमा भर्ना गराउनेदेखि औषधीमा लुट मच्चाउने काम गर्दै आएको पाइएको छ । जसको नियन्त्रण गर्न अस्पताल प्रशासनले अहिलेसम्म सकेको छैन । बरु अस्पताल प्रशासनले बिरामी भर्ना हुँदा नै सेवाग्राहीले कहाँ औषधी खरिद गर्ने हुन् त्यसका लागि स्टाम्प लगाई दिने गरेको छ ।

फार्मेसीको नाममा बिचौलियाको भूमिका निर्वाह गर्ने उनीहरुले एम्बुलेन्स वा अन्य कुनै माध्यमबाट आउने बिरामी आफ्नो मातहत राखेर अस्पतालमा भर्ना गर्ने र साह्रोगाह्रो वा असजिलोमा सहयोग गर्ने नाममा उल्टै लुट्ने गरेका छन् ।

औषधी पसलहरुले गर्ने यो कार्टेलिङ्गलाई अस्पताल प्रशासनले संस्थागत गरेर सेवाग्राही ठगिन सहजीकरण गरेको देखिन्छ । अस्पतालमा बिरामीको सुरु भर्ना हुँदा नै आफन्तसँग काउन्सिलिङ्ग शाखाले सोध्छ–औषधी कहाँ खरिद गर्ने ? सेवाग्राहीले बाहिर भनिदियो भने ‘आउट’ र भित्र भन्यो भने ‘इन’ स्टाम्प लगाउने गरिएको छ । यसो हेर्दा यो उपभोक्ता अधिकारलाई ध्यानमा दिएजस्तो देखिन्छ । तर, बाहिरका फार्मेसीले यसैलाइ मौका मानेर सेवाग्राहीलाई लुट्ने गरेका छन् । बिरामी भर्ना सहजीकरणको नाममा बाहिरका फार्मेसी सञ्चालकलाई अस्पतालले प्रवेश खुल्ला गरिदिएको छ ।

अस्पताल प्रशासन प्रमुख पदम बिनाडीले यी सबै कुरामा आफू जानकार भएपनि एम्बुलेन्स र औषधी पसलेको कार्टेलिङ्ग भएनभएको कुरा आफूले भन्न नमिल्ने बताए । जुन सेवाग्राही जानकार छ, एम्बुलेन्सबाट आएपनि अन्य कुनै सवारी प्रयोग गरेर आएपनि आफैं अस्पतालको सेवाको पहुँचमा पुग्नसक्छ, बिनाडीले भने– सहरको अवस्थित, अस्पतालको उपचार सेवा बारे अनभिज्ञ बन्दछ, त्यहिंदेखि एम्बुलेन्स चालकले काउन्सिलिङ्ग गरेर ल्याएर औषधी पसलेमार्फत भर्ना गराउँदा हुनेजति लुट भइरहेको छ ।

सेवाग्राहीलाई अस्पतालले काउन्सिलिङ्ग गरेपनि विश्वास नगर्ने समस्या छ । कारण, बाहिरका मेडिकल पसलले यति र उति छुट दिने आश्वासन दिएर भड्काउने अनि उनीहरुले कि त सख्या थप्ने की त मूल्यमा डस्ने गरेका छन् । यतिमात्रै छैन,अस्पतालबाट औषधी मागिएपछि सेवाग्राहीले सुरुको पसलमा लिएको औषधी नपाइए अर्को पसलले दिदैन । अस्पतालकै फार्मेसी समेत दिदैन । जुन औषधी पसलमा सुरु नाम उल्लेख गराइएको छ, त्यसैले बिरामीका लागि औषधी उपलब्ध नगराउँदासम्म अरुले नदिने समस्या छ । अस्पताल प्रशासन प्रमुख बिनाडी यो कुरा पनि सत्य रहेको बताउँदै भन्छन्, एकलाख लगानी गरेर फार्मेसी खोल्यो, औषधी नराखिबस्यो अनि बिरामीको जिम्मा लिने समस्या छ । तर, त्यहाँ बाहिरका सबै फार्मेसीमा भने यो समस्या नभएको उनी बताउँछन् । ठूलो लगानीमा खुलेका केहि औषधी पसलमा भने उचित मूल्य भन्दा बाहेक कारोबार नहुने गरेको उनले बताएका छन् ।

बिनाडीले भित्रकै फार्मेसीबाट औषधी लिदाँ कम्प्यूटर बील, चिकित्सकले सिफारिस गरेको मेडिसिनको सूची र नर्सले बनाएर दिएको स्लिप समेत सेवाग्राहीले हेर्न पाउने बताए । तर, भित्र औषधी खरिद गर्ने सेवाग्राहीलाई बाहिरका औषधी पसलले केहि नभए १३ प्रतिशत भ्याट जोडेर लिन्छन भनेर समेत उचालेर विवाद सिर्जना गरिदिने गरेको उनको दावी छ ।

बिनाडीले यसका लागि अस्पतालले औषधीको मूल्य समेत अंतिक गर्ने ‘ड्रग स्लिप’ बनाएपनि कार्यन्वयनमा उल्झन नै आइरहेको सुनाए । सबै फार्मेसी सञ्चालक त्यो मूल्य उल्लेख गर्न नचाहने समस्या अहिले पनि काम रहेको उनी बताउँछन् । बिनाडीकै अनुसार चिकित्सकले २ वटा मेडिसिन सिफारिस गरिदिएको तथ्यमा समेत अंक थपेर १२ बनाउने खेल पनि फार्मेसीमा हुने बताए । तर, अस्पतालले ठगी हुनबाट जोगाउन हरदम प्रयास जारी राखेको उनको भनाई छ ।

औषधी पसलहरुको यो मनपरी गर्दा पनि औषधी व्यवस्था कार्यालय विराटनगरको नियमन कमजोर छ । बारम्बार गुनासो आउँदा समेत आफ्नो खुशी बाहेक अनुगमन गर्ने गरिएको छैन । औषधी व्यवस्था कार्यालय विराटनगर प्रमुख सचिता बर्मा औषधी पसलेहरुको कार्टेलिङ्गका बारेमा अहिलेसम्म गुनासो नआएको बताउँछिन् । बिराट नर्सिङ होम बाहिरी परिसरमै सञ्चालित एक्टिभ फार्मेसीले लागुमनोद्धिप औषधीको तथ्यांक नराखेको र व्यवसायी अनुपस्थित भएका कारण शिलबन्दी गरिएको उनले बताइन् ।
जिल्ला एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य एवं फाउण्डेशनमार्फत दुईवटा एम्बुलेन्स सञ्चालन गर्दै आएका चन्द्र पराजुलीका अनुसार सबैले दलाली नै गर्दछन् भन्ने नभएपनि कतिपय ठाउँमा यो रोगकै रुपमा रहेको बताउँछन् । तर, कसैले कमिसन नै नदिएपनि सेवाग्राहीले भनेको अस्पतालमा एम्बुलेन्सले खुरुक्क बिरामी पु¥याउनुपर्ने कर्तव्य पूरा गरिरहेको तर्क उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्