विराटनगर । बिराट मेडिकल कलेज टिचिङ अस्पतालले आफ्नो स्वास्थ्य सेवालाई अझ गुणस्तरीय, प्रभावकारी तथा विशिष्टीकृत बनाउने उद्देश्यका साथ न्युरो मेडिसिन तथा न्यूरो सर्जरी विभागका लागि छुट्टाछुट्टै अत्याधुनिक वार्ड र एचडीयू सञ्चालनमा ल्याएको छ।
अस्पताल प्रशासनका अनुसार न्युरो मेडिसिन विभागका लागि पुरानो भवन ९द्ययिअप ब्० को पाँचौं तल्लामा २४ बेड क्षमताको छुट्टै वार्ड तथा ११ बेडको एचडीयू सञ्चालनमा ल्याइएको हो। त्यसैगरी, न्यूरो सर्जरी विभागका लागि नयाँ भवन को पाँचौं तल्लामा २४ बेड क्षमताको छुट्टै वार्ड र ११ बेडको एचडीयू सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले न्युरोलोजिकल तथा न्यूरोसर्जिकल समस्याबाट पीडित बिरामीहरूलाई अझ व्यवस्थित, सुरक्षित र विशेषज्ञ सेवामार्फत उपचार प्रदान गर्ने उद्देश्यले यी सेवाहरू विस्तार गरिएको जनाएको छ। नयाँ संरचना र आधुनिक उपकरणसहित सञ्चालनमा आएको वार्ड तथा एचडीयूले गम्भीर अवस्थाका बिरामीहरूको निगरानी र उपचारलाई थप प्रभावकारी बनाउने विश्वास अस्पतालले लिएको छ।
बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले पछिल्लो समय विभिन्न विशेषज्ञ सेवाहरू विस्तार गर्दै बिरामीलाई सहज, आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा निरन्तर काम गर्दै आएको छ।